माओवादी केन्द्रका नेता मातृका यादवले राजनीतिक जीवनमा दुई पटक मात्र चुनाव लडे, दुवै चुनाव विद्यार्थी राजनीतिका थिए। सिरहा क्याम्पसमा दुई पटक स्ववियू सभापतिमा निर्वाचित भएका उनी पार्टी राजनीतिमा लाग्दै माओवादीको सशस्त्र युद्ध लडेपछि ‘ब्यालेट’बाट टाढै रहे।
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि यादवले पार्टी निर्णयमा असहमति जनाउँदै नेकपा माओवादीको पुनर्गठनको आन्दोलन अघि बढाएका थिए। तीन पटक मन्त्री भइसकेका उनी प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा वाम गठबन्धनबाट धनुषा १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।
प्रदेश २ बाट माओवादी केन्द्रका सबैभन्दा ठूला नेताका रुपमा चित्रण गरिएका यादवसँग चुनावी गतिविधि र मधेसका मुद्दाबारे नेपाल लाइभका हिम विक्रम केसीले गरेको कुराकानीः
पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ। भोटको लडाइँ कत्तिको गाह्रो हुने रै’छ?
विद्यार्थीकालको चुनावलाई हिसाब नगर्ने हो भने यो मेरो पहिलो निर्वाचन नै हो। म दुई पटक सिरहा क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएको थिएँ। प्रत्यक्ष निर्वाचन पहिलो पटक लडे पनि निर्वाचनको अनुभव भने मलाई छ। पार्टी नेतृत्वको हिसाबले विभिन्न समयमा भएको निर्वाचनमा अनुभव सँगालेको छु। हिजो अप्रत्यक्ष रुपमा अनुभव गरेको विषय अहिले प्रत्यक्ष रुपमै देख्दा÷भोग्दा झनै ज्ञान हासिल भइरहेको छ।
पञ्चायत विरुद्धको आन्दोलन गर्दै माओवादी सशस्त्र युद्धमा समेत सामेल हुनुभयो। युद्धको मोर्चा सजिलो कि ब्यालेटको लडाइँ?
बुलेट भन्नुस् वा ब्यालेट, लडाइँको मोर्चा त मोर्चै हुन्छ। यसमा सजिलो भन्ने हुँदैन, चुनौतीपूर्ण नै हुन्छ। तर, अहिले जुन निर्वाचनमा हामी सहभागी भइरहेका छौं, यसमा व्यक्तिगत रुपमा मलाई चाहिँ त्यस्तो कुनै चुनौती छैन। म सहजै ढंगले निर्वाचन जित्दै छु।
पछिल्लो समय खर्चिलो बन्दै गएको चुनावमा एजेन्डाभन्दा पैसा हावी भएको देखिन्छ नि!
पैसा त गणतन्त्र अगाडिको चुनावमा पनि हावी हुन्थ्यो। त्यसबेला खास चुनावी एजेन्डा पनि थिएनन्। तर अहिले गणतन्त्र स्थापित भइसकेपछि पनि पैसा हावी हुनु दुःखद पक्ष हो।
तपाईंका जितका आधार के–के हुन्?
मेरो जितको आधार भनेकै आजसम्म मैले देश र जनताको लागि गरेको राजनीति हो। उत्पीडित वर्ग तथा समुदायको निम्ति मैले गरेको संघर्ष जितको पहिलो आधार हो। साथसाथै म आजसम्म जहिले पनि जनताकै माझमा छु। मेरो क्षेत्रका जनताको हरेक सुख–दुःखमा साथमै छु। पहिचान, सुशासन र विकासको निम्ति मलाई मेरा मतदाताले आफ्नो अमूल्य मत दिई विजय गराउनेछन् भन्नेमा म विश्वस्त छु।
धनुषा १ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिन्छ। तपाईंको मुख्य प्रतिस्पर्धी कांग्रेसका आनन्दप्रसाद ढुंगाना कि संघीय समाजवादी फोरमका दीपक कार्की?
वाम गठबन्धनको तर्फबाट म साझा उम्मेदवार हो। तीन महिनाअघि भएको स्थानीय निर्वाचनको मत हेर्दा धनुषामा हाम्रो गठबन्धनको मत २५ हजार ६ सय ४४ छ। त्यस्तै, कांग्रेसको १६ हजार ३ सय ३८ मत र राजपा÷फोरमको १२ हजार २ सय ८० मत छ। अब तपाईं आफै पत्ता लगाउनुस्, मेरा प्रतिस्पर्धी को हुन्?
माओवादीले जनयुद्ध थाल्नुअघि ०५२ सालतिरको मधेस र २२ वर्षपछिको मधेसलाई राजनीतिक चेत र आर्थिक जीवनस्तरका हिसाबले हेर्दा के भिन्नता देख्नुहुन्छ?
राजनीतिक रुपमा त्यतिबेलाको मधेसभन्दा अहिलेको मधेस धेरै सचेत र जागरुक छ। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्छ भन्नेमा यहाँका जनता स्पष्ट छन्। त्यो देन महान् जनयुद्ध र त्यसपछि भएका मधेस आन्दोलनलाई जान्छ। आर्थिक जीवनस्तरको आधारलाई हेर्ने हो भने त्यतिबेलाको मधेसभन्दा अहिले मधेस परनिर्भरतामा गएको छ। मधेसका ऊर्जावान् युवाहरु वैदेशिक रोजगारीमा गएका छन्, उनीहरुको रेमिट्यान्सले घर खर्च चलेको छ। उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिनुपर्छ। युवा शक्तिलाई विदेश पठाएर देश विकास हुँदैन।
संविधान जारी भएपछि संविधान संशोधनको माग राख्दै मधेस आन्दोलित भएको थियो। संशोधनको आवाज पछिल्लो समय सुनिँदैन। मधेसको माग पूरा भइसकेको हो?
मधेसमा अधिकार प्राप्तिको लडाइँ सिद्धिएको छैन। जनजीविकाको सवाल त झनै छँदै छ। मधेसमा राजनीतिक अधिकारको संघर्ष र जनजीविकाको संघर्ष सँगसँगै गरिनुपर्छ। त्यो अहिले पनि फरक रुपमा जारी छ।
संविधान संशोधनको विपक्षमा रहेको एमालेसँग गठबन्धन गरेर माओवादी केन्द्र चुनावमा गएको छ। चुनावपछि संशोधनका विषयमा माओवादीको धारणा के हुन्छ?
अघिल्लो संसदमा हाम्रो पार्टीले जसरी संशोधनको पक्षमा मतदान गरेको थियो, त्यस विषयमा चुनावपछि पनि अडिग रहन्छ। माओवादी संशोधनको पक्षमा छ।
चुनावपछि संविधान संशोधनमा एमाले सहमत नभए माओवादी केन्द्र कसरी अघि बढ्छ?
एमाले पनि संशोधनको पक्षमा छ। यस विषयमा यो भन्दा धेरै नबोलूँ।
माओवादी केन्द्रबाट मधेसको सबैभन्दा ठूलो नेताले हैसियतले भनिदिनुस्, मधेसले चाहेको के हो? चुनावपछि मधेसको मुद्दा सम्बोधनमा तपाईंको भूमिका के रहन्छ?
मधेसले मात्र होइन, देशले नै चाहेको समानता हो, सुशासन हो र समृद्धि हो। मधेसले देशको अन्य क्षेत्रमा बस्ने नागरिकको भन्दा बढी अधिकार मागेको छैन। बराबरीको अधिकार मधसले पाउनुपर्छ। चुनावमा मैले जितेपछि जनप्रतिनिधिको रुपमा मधेसी जनताको सारथी भएर काम गर्नेछु।
युद्धको समयमा मधेसमा राजनीतिक बिउ माओवादीले रोप्यो, तर बाली खाने बेलामा मधेसकेन्द्रित दलहरु आए भनिन्छ। यस विषयमा तपाईको टिप्पणी के छ?
०६३ पछि हामी माओवादी थोरै बिग्रियौं। जसका कारण अन्य दलले त्यसैलाई आधार बनाएर मधेसमा भ्रम फैलाए। अहिले हामी गल्ती–कमजोरीलाई सच्याउँदै अगाडि बढेका छौं। यो कुरा मधेसी जनताले राम्ररी बुझेका छन्। अब मधेसमा माओवादीको विरुद्ध कसैले भ्रम छर्न सक्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।