पथरी, मोरङ- पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने कुरा गरिरहँदा उनकी श्रीमती पार्वतीदेवीले आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने बताइरहेकी थिइन्।
'विवाह भएदेखि नै श्रीमानले रोजेको उम्मेदवारलाई भोट दिएको छु,' उनले भनिन्, 'तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु।'
संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ। पार्वतीदेवी जस्ता महिला अब सक्षम बन्दै गएकाले आफ्नो निर्णय आफैं गर्ने भइसकेका छन्। महिला प्रतिनिधित्वबिना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उनको भनाइ छ।
'पुरुषले रोज्दै आएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन,' उनको तर्क छ, '२०५१ सालमा आफूले पहिलो पटक भोट हालेको अवस्थामा छ नै अहिले गाउँ पनि। उहाँले बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारी लगायत व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई म भोट हाल्छु।'
पथरी शनिश्चरे–८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ पनि युवाहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई मत हाल्ने बताउँछिन्। 'छोरीचेली माइतीमा बस्दा आमाबुबा र घरमा बस्दा पति र ससुराले भनेका आधारमा भोट हाल्ने दिन अब गए,' उनको भनाइ छ, 'अब सबै आफूले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ।'
यहाँका महिलालाई केही समय अगाडिसम्म पति, ससुरा र गाउँका पुरुषले रुचाएको उम्मेदवारलाई भोट हाल्न सिकाउँथे तर पछिल्लो समय महिलाले पनि समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन्।
प्रतिनिधिसभाका लागि ६ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कूल ६ लाख ४४ हजार ७८२ मतदाता छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।