काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति एक भएर बनेको नवगठित समाजवादी पार्टी नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिने भएको छ। दुई पार्टी एकीकरणको एउटा आधार यसलाई मानिएको छ।
शासन प्रणाली भने पूर्ण समानुपातिक संसदमा आधारित हुने भएको छ। आफूले अघि सारेको कार्यक्रमका १५ मौलिक विशेषता हुने बताइएको छ। राष्ट्रिय स्वधीनता, संघीय शासन, समाजवादी व्यवस्था, सहभागीतामूलक समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, सामाजिक न्यायलगायत छन्।
संघीय समाजवादी फोरम नेपालले अवलम्बन गरिआएको संघीय समाजबाद र नयाँ शक्तिले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत संघीय समाजवादको सिद्धान्त अघि सार्ने निष्कर्षमा उनीहरु पुगेका छन्।
नवगठित समाजवादी पार्टीले संविधान संशाेधनलाई मूल मुद्दा बनाउने देखिएको छ। संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका साथै प्रदेशको संख्या बढाउने माग गर्ने बताइएकाे छ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता आधार पत्रमा प्रदेशको संख्या '१० प्लस १' बनाउन माग गरिने उल्लेख छ। संविधानसभाबाट गठित उच्चस्तरीय राज्य पुर्नसंरचना आयोगले '१० प्लस १' प्रदेशको सङ्घीय राज्यको खाका प्रस्तुत गरेको थियो।
‘संविधान सभाद्धारा गठित उच्चस्तरीय राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १० प्लस १ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ,’ सहमतिको आधारपत्रमा भनिएको छ।
पार्टीले कर्मचारीतन्त्रमा समेत पुर्नगठनको माग गरेको छ। संवैधानिक निकायहरुको सवलीकरणमा जोड दिएको छ।
याे पनि पढ्नुस् :
प्रदेशको संख्या बढाएर '१० प्लस १' पुर्याउन बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले दबाब दिने
संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता घोषणा, बन्यो 'समाजवादी पार्टी नेपाल'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।