भद्रपुर- नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ।
झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनीहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनतासमक्ष पुर्याउने जनाएका छन् । ‘मोर्चाको कार्यक्रम, निर्वाचन र शान्ति–सुरक्षाको सवाल’ बारे भएको छलफलमा चार बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
निर्वाचन रोक्न माग गरेको र विरोधी गतिविधि गरेको आरोपमा अघिल्लो साता मोर्चाका केन्द्रीय नेता बिर्तामोडबाट पक्राउ परेका थिए। छलफलमा मोर्चाका नेताले आफूहरु निर्वाचन विरोधी नभएको, निर्वाचन बिथोल्ने कुनै गतिविधि नगरेको र नगर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
पछिल्लो समय विभिन्न पक्षबाट शान्ति सुरक्षा खल्बल्याउन बम विस्फोट गराउने लगायतका गतिविधि भइरहेको भन्दै मोर्चाका नेतासहित छलफलमा सहभागीले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
३७ जिल्लामा आफ्नो संगठन विस्तार भएको जनाउँदै मोर्चाका नेताहरुले आफूहरु शान्तिको पक्षमा रहेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।