इलाम- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वाम गठबन्धनले निर्वाचन जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको बताएका छन्।
इलामको गोर्खेमा बुधबार वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै इलाम क्षेत्र नम्बर १ का उम्मेदवार खनालले वाम गठबन्धनले चुनावमा दुई तिहाई मत ल्याउने भएकाले विपक्षीहरूको निद्रा हराएको बताए।
खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टको विरूद्धमा झुट बोलेर जनतालाई भ्रममा पार्न खोजेको आरोप समेत लगाए। उनले विचार र सिद्धान्त मिल्ने पार्टीबीच एकता हुनुलाई शंका–उपशंका नगर्न मतदातालाई आग्रह गरे।
'वाम गठबन्धन देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि बनेको हो', खनालले भने, 'यो कसैका विरूद्ध षड्यन्त्रका लागि बनेको होइन।'
क्षेत्र नम्बर १ को विकास निर्माणमा सधैं प्रतिबद्ध रहने बताउँदै उनले आफूलाई निर्वाचनमा जिताउन आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।