वालिङ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिस्ट शासन लागू गर्न खोजेको आरोप लगाएका छन्।
स्याङ्जाको वालिङमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताले प्रजातन्त्र रोज्ने कि कम्युनिस्टको एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने भनेर आगामी निर्वाचनमा छिनोफानो गर्ने बताए।
'संसारमा असफल भएका बाद यहाँ ल्याउन खोजिएको छ त्यो सफल हुँदैन', देउवाले भने।
सभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टले समस्या मात्रै जन्माउने तर समाधान दिन नसक्ने दाबी गर्दै समस्याको समाधानका लागि कांग्रेस चाहिने बताए।
नेता पौडेलले यो निर्वाचनले नेपाली जनताको भविष्य कोर्ने भएकाले लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणका लागि कांग्रेसलाई जिताउन आग्रह समेत गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।