काठमाडौं- ओठमा मुसुक्क मुस्कान, उज्यालो चेहरा, शरीरमा फूर्तिसहित वैदेशिक रोजगार बोर्डमा भेटिएकी काभ्रे जिल्ला साविक अनिकोट-९ की सन्तोषी तामाङ ७ वर्ष कुवेत बसिन्।
सन् २०११ मा घरेलु कामदारका रुपमा गएकी उनी दुई वर्षको करार सकिएपछि नेपाल आइन्। काम घरको भएपनि सुरक्षित भएको र कमाई पनि राम्रो भएकाले सन्तोषी फेरि कुवेत फर्किइन्।
‘घरेलु कामदारका रुपमा गए पनि काम र कमाइ निकै राम्रो थियो, कमाइ मासिक ४० हजार थियो। नेपालमा ४० हजार कमाउन सक्ने वातावरण थिएन। त्यसैले फेरि कुवेत गएँ’ सन्तोषीले सुनाइन्।
७ वर्ष कुवेतमा बसेर २०७४ सालमा सन्तोषी नेपाल फर्किइन्।
उनी फर्कनुअघि २०७३ साल चैत महिनादेखि नै सरकारले घरेलु कामदारका रुपमा खाडी जान रोक लगाएको थियो। सन्तोषीको काम राम्रो भएपनि रोजगारीका लागि कुवेत जान पाइनन्।
‘कुवेत कहिले खुल्छ र जान पाउँछु भनेर बसेको १ वर्ष बितिसक्यो, सबै जिम्मेवारी आफैँले लिनुपर्छ के गर्नु? कुवेत खुल्दै खुलेन,’ सन्तोषीका मुहारमा असन्तोष प्रकट भएको लख काट्न मुस्किल थिएन।
श्रीमानले छाडेपछि रोजेको कुवेत
काभ्रेमा जन्मिएकी सन्तोषीको पारिवारिक अवस्था सामान्य थियो। सामान्य परिवारमा हुर्किएकी उनको सानै उमेरमा विवाह भयो।
सन्तोषीले धेरै पढ्न पाइनन्। कति पढ्नुभएको छ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘अक्षर चिन्नै मुस्किल पो छ, पढेको भए त किन कुवेत धाउथेँ।’
१९ वर्षको उमेरमा आमाबुबाले सन्तोषीको विवाह गरिदिए। सन्तोषीका दुई छोरा छन्।
‘बिहे गरेको एक वर्षमा नै जेठो छोरो जन्मियो, कान्छो छोरो नजन्मदैँ श्रीमान्ले अर्को बिहे गरेर अलपत्र पारेर हिडे। अब के गर्ने कसरी छोराहरु पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो। अनि विदेश जान सोच्नुपर्ने भयो,’ सन्तोषीले विगत स्मरण गर्दै भनिन्।
कान्छो छोरो जन्मने बेला हुनै लाग्दा उनका श्रीमान्ले दोस्रो विवाह गरेर सन्तोषीलाई छाडिदिए।
‘कति पीडा भयो मलाई, जतिबेला श्रीमान्बाट सहयोगको खाँचो थियो त्यसैबेला श्रीमान्ले छाडेर हिडे,’ यति भन्दा सन्तोषीका आँखा भरिए।
केही बेर अडिएकी सन्तोषीले थपिन्, ‘जिम्मेवारी आफ्नै काँधमा थपियो, कुवेतको यात्रा पछ्याउनै पर्ने भयो र हिडेँ।’
७ महिनाको छोरा छाडेर कुवेत
सन्तोषी ७ महिनाको सुत्केरी अवस्थामै हुँदा कुवेतका लागि भिसा आयो। भिसा आएपछि दुवै छोराहरु माइतमा नै छाडेर कुवेत हिडिन्।
‘७ महिनाको दुधे छोरो छाडेर जाने मन त कहाँ थियो र? मुटु गाँठो पारेर हिडेँ। कुवेत पुगेर पनि छोरालाई के भयो होला, के खायो होला भन्ने चिन्ताले धेरै सताउँथ्यो’ सन्तोषी भन्छिन्।
आफू रोएर सन्तानको खुसीको कामना गर्ने सन्तोषीले पनि आफू ७ महिनाको सुत्केरी कसरी अर्काको देशमा शारीरिक श्रम गर्ने भन्ने नै सोचिनन्।
‘मेरा दुईवटा छोरालाई पालनपोषण गर्ने र कसरी हुर्काउने भन्ने चिन्ताले सताउँथ्यो,’ उनले भनिन्। घरेलु कामदारका रुपमा कुवेत पुगेकी सन्तोषीको काम पनि निकै राम्रो भयो। कमाई पनि सोचेजस्तै थियो।
'जान पाएको भए फेरि पनि जान्थेँ, के गर्नु जानै पर्छ, कमाउनै पर्छ दुईवटा छोरा आफ्नै जिम्मामा छन्।'
कुवेतको कमाई राम्रो भएकाले सन्तोषीले दुई छोरालाई केही वर्ष काठमाडौं राखेर प्राइभेट स्कुलमा पनि पढाइन्।
‘कुवेतबाट फर्किएपछि जान पाइएन, पैसा आउनेबाटो बन्द भयो। छोराहरु बोर्डिङबाट निकालेर सरकारी स्कुलमा राखेकी छु’ सन्तोषीले भनिन्।
गाउँमै बाख्रापालन गर्ने सोच
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै केही व्यवसाय गर्न चाहने युवालाई सरकारले ५ वर्षका लागि सहुलियत ब्याजदरमा १० लाख कर्जा उपलब्ध गराउने भन्ने कुरा सन्तोषीले पनि जानकारी पाइन्।
यो सुनेपछि सन्तोषीलाई पनि सरकारले उपलब्ध गराउने कर्जा लिएर स्वदेशमा नै केही व्यवसाय गर्न मन लाग्यो।
आफूले गर्ने बाख्रापालन व्यवसाय देखाएर वैदेशिक रोजगार बोर्डमा कर्जाका लागि फारम भरेको सन्तोषीले बताइन्।
सन्तोषीले १० लाख पाउने पनि भइन्। त्यसपछि काभ्रेमै गएर बाख्रापालन व्यवसाय विस्तार गर्ने सन्तोषीको योजना छ।
‘कति विदेशमा पसिना बगाउनु? त्यति समय देशमा नै खट्न सके केही त पक्कै होला, विदेश जानुभन्दा त गाउँमै बाख्रापालन गर्नु बेस लागेको छ,’ सन्तोषीको सोच बदलिएको छ।
'सहुलियत दरमा कर्जा नभएको भए फेरि पनि विदेश जानुको विकल्प थिएन,' सन्तोषीले भनिन्, 'यही कर्जाले स्वदेशमा नै व्यवसाय गर्ने हिम्मत जुटाउन सहयोग गरेको छ। अब हेरौं के हुन्छ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।