नेकपा एमालेका ऋषिकेश पोखरेलले ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्दै संविधानसभासम्मको यात्रा तय गरेका थिए। अहिले पोखरेल नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालसँग मोरङ २ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। चुनाव प्रचारप्रसारमा व्यस्त रहेका पोखरेलसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः
कांग्रेसका चर्चित नेतासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कतिको दबाब महसुस भइरहेको छ?
मलाई कुनै दबाब महसुस भएको छैन। म यो समाजको नागरिक हो। यो समाजकै दाजुभाइ हुँ। यहाँ मेरो सामाजिक सम्बन्ध छ। हिजोका तीन वर्ष यो समाजले मसँग परीक्षा लिएको छ। म त्यो परीक्षामा पास भएको छु। आज पनि समाजका दाजुभाइ, बुबाआमासँग पुगिरहेको छु। सबैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। सबैको सद्भाव, आशीर्वाद र साथ लिँदै र हिँड्दैछु।
यस पटक चाहिँ के भनेर मत मागिरहनुभएको छ?
बहुदल आएको २८ वर्षमा मुलुक कहिल्यै स्थिर भएन। र, नेपाली कांग्रेसले यो मुलुकलाई कहिल्यै स्थिरताका साथ अगाडि बढाउन सकेन। बहुमत प्राप्त गरे पनि त्यसको रक्षा गर्दै मुलुकलाई समृद्धितिर लान सकेन। अन्य विभिन्न कारणले यो मुलुक अस्थिर भयो।
वामपन्थीहरुको सरकारले अब मुलुकको समृद्धि र विकास गर्छ। हिजो हामी जे भए पनि आज एक छौं। सामाजिक न्याय, लोकतन्त्र र मानवअधिकार सहितको शासन व्यवस्था र संविधानको पूर्ण कार्यान्वयनको बाटोमा हामी जान्छौं। यही भनेर नै मत मागिरहेका छौं।
गठबन्धन चलिरहेकाले त्यो भन्नु ठिकै हो। तर, तपाईंले आफ्नो व्यक्तिगत रुपमा चाहिँ के भनिरहनुभएको छ?
पहिलो कुरा म राजनीतिक पात्र र प्रतिनिधि हुँ। त्यस हुनाले मैले उठाउने विषयहरु राजनीतिक नै हुन्छ। दोस्रो, म यो समाजको नागरिक हुँ। त्यसैले मैले उठाउने विषय सामाजिक पनि हुन्छ। सामाजिक हिसाबले मैले उठाएको कुरा यहाँका पीडाहरु हुन्। यहाँका रतुवा, बक्राहा, डाँठ लगायतका केही खोलाहरुले लामो समयदेखि जनतालाई पीडित बनाएको छ। त्यसको नियन्त्रण र कम क्षतिका लागि के गर्न सकिन्छ, गर्नुपर्छ भन्ने मेरो भनाइ हो।
तपाईं त यसअघि पनि सांसद हुनुहुन्थ्यो नि! त्यसबारे केही पहल गर्नुभएन?
गरेको थिएँ। म मात्रै होइन, बक्राहाबाट पीडित तीन जना सांसद मिलेर बक्राहा नियन्त्रणको सम्पूर्ण रिपोर्ट तयार गरेर अर्थ मन्त्रालय पुर्याएका छौं। अस्थायी समाधानका लागि करिब ३ अर्बका काम मैले गराएको छु। तर त्यो प्रभावकारी हुन सकेको छैन। त्यसैले स्थायी खाले प्रोजेक्टमा जानुपर्छ भन्ने हाम्रो माग रहन्छ।
जनताले मिनेन्द्र रिजाललाई छाडेर तपाईंलाई मत किन दिने?
म यहाँको नागरिक हुँ। यहाँका पीडा, दुःख, गाउँघर, समाज, टोल सबैसँग म पुगेको छु। आफ्नो समाज बलवान् बनाउने हो भने सामाजिक प्रतिनिधिकै नेतृत्व चाहिन्छ भन्नेमा यहाँको समाज सचेत छ। यहाँको आम जनतासँग मेरो व्यक्तिगत सम्बन्ध छ र अबको मतदाता आफ्नो पहुँचकै प्रतिनिधि निर्माण गर्न चाहन्छ। यहाँका आवश्यकताहरु मलाई थाहा छ। म यहीँ जन्मेर हुर्केको मान्छे हुँ। यहाँका जाति जनजातिहरुका माग के हो, आदिवासी, मधेसीहरुको माग के हो, कुन बाटो आवश्यक हो, कुनले सहजीकरण गर्छ भन्ने मैले बुझेको छु। त्यो जनतासँग आधारित छ। त्यसकारण उहाँलाई भन्दा जनताले मलाई रोज्छन्।
अर्को कुरा, यो सय प्रतिशत कृषिभूमि भएको क्षेत्र हो। यहाँ केही इँटा कारखाना र चामल मिलबाहेक कुनै उद्योग छैनन्। यहाँका जनता सम्पूर्ण रुपले कृषिमा आधारित छन्। त्यसैले कृषिको व्यावसायीकरण कसरी गर्नुपर्छ, औद्योगिकीकरण कसरी गर्नुपर्छ भन्नका लागि किसानहरुको व्यथा बुझेकै मानिस आवश्यक पर्छ। त्यसैले सम्पूर्ण किसानले मलाई रोज्छन्। यहाँका धेरै युवा बेरोजगार छन्। कृषिको व्यवसायभित्र युवाको रोजगारी कसरी सुनिश्चित हुन्छ भन्ने कुरा कृषि क्षेत्रमै जोडिएको मानिसलाई जानकारी हुन्छ। त्यसैले ती युवा मसँग जोडिन्छन्। यहाँका कांग्रेस कार्यकर्ताहरु नै मिनेन्द्र रिजाललाई मतदान गर्न चाहनुहुन्न।
किन?
यति ठूलो क्षेत्रमा २८ वर्षभित्र कांग्रेसले कुनै पनि स्थानीय नेतृत्व विकास हुन दिएन। विकास गराउन चाहेन। त्यहाँभित्र रहेको जमिनदारी मानसिकताले यो क्षेत्रका कुनै पनि कांग्रेस दाजुभाइलाई नेतृत्वमा आउन दिँदैन। बाह्य मानिसलाई ल्याएर यहाँको कांग्रेसलाई कम्तिया बनाउँछ। यहाँका कांग्रेस दाजुभाइ, बुवाआमा उनीहरुका कम्तिया मात्रै हुन्। त्यसैले यहाँका कांग्रेस दाजुभाइहरु आफू मालिक हुन चाहन्छन्। यो समाजको पात्र बन्न चाहन्छन्। त्यसैले पनि मिनेन्द्र रिजाललाई मत दिन चाहँदैनन्।
स्थानीय तहको निर्वाचनको परिणामले यहाँको मतलाई केही प्रभाव पार्ला?
स्थानीय तहको मतको सुरक्षा गर्न सक्यौं भने पनि हामी जित्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।