काठमाडौं– सरकारले बालुवाटारको जग्गा हडप्ने कार्यमा चार तारे वा लाल तारे जो भए पनि नछाडिने बताएको छ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा 'जग्गा प्रकरणमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि जोडिएपछि छानबिन प्रभावित हुन्छ कि' भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सो कुरा बताएका हुन्।
'जग्गा अतिक्रमणको विषय कोहीप्रति रिसिबी साँध्न ल्याएको होइन। पुरातात्विक उत्खनन भित्र पनि पर्दैन। यो सुशासन र सरकारी सम्पत्तिको रक्षाभित्र पर्छ', मन्त्री बाँस्कोटाले भने, 'यसमा चारतारे र लालतारे जो पर्नुहोस्, पर्नुभएको छ भने, उहाँहरुको तथ्य प्रमाणले देखाउँछ भने, यसमा हामी कसैलाई पनि छुट दिन सक्दैनौं।'
उनले सरकारको पोजिसन स्पष्ट भइसकेको बताए।
उनले सरकारले नै छानबिन समिति बनाएको तर विष्णु पौडेलको नाम जोडिनासाथ सरकारलाई नै धनु चलाइएको बताए। 'सरकारले राम्रो गर्यो भन्नु त कता हो कता, विषयलाई एकदम क्षणिक रमाइलोका लागि प्रयोग गरिदिने कुरा देखिँदैछ', उनले भने।
बिहीबार नै सुवर्ण शमशेरका परिवारले निकालेको विज्ञप्तिको विषयमा उठेका प्रश्नलाई पनि बाँस्कोटाले स्पष्ट पारे। 'धेरैको योगदान हुन्छ। उहाँहरुको योगदानलाई हामी सम्मान गर्छौं। र स्मरण गर्छौं। उनका सन्तानले देशको नियम कानुन मान्नु पर्छ', उनले भने, 'योगदान गरेको हो भने त पृथ्वीनारायण शाहले सबैभन्दा ठूलो योगदान गरेका हुन्। तिनका सन्तानले केके गरे।'
उनले लालपुर्जामा महासचिव वा सभापति वा पूर्व प्रधानमन्त्री भनेर नलेखिने भएकाले दोषीलाई कारबाही गर्ने बताए। 'हामी यति जान्दछौं कि मुलुकको नियम कानुनले व्याख्या गरेका चिजहरुको उल्लंघन भएमा ठेगानमा ल्याउनु सरकारको दायित्व हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।