काठमाडौं- धेरैको चाहना हुन्छ, आफ्नै देशमा केही गरुँ। परिवारसँगै बसूँ। दु:खसुख यतै कर्म गरुँ। तर, सबैको चाहना पूरा हुँदैन।
स्वदेशमै केही गरेर मर्ने नेपाली युवाको सपना खाडीको तातो घामले पोलिरहेको छ। रंगीन सपना खोज्न हिँडेका उनीहरुको मन परदेशको कहरसँगै रुमल्लिइरहेको छ।
झापा शनिश्चरेका लक्ष्मीप्रसाद भण्डारी भन्छन्, ‘साउदीमा गाडी हाँकेर म जिन्दगी पछाडि धकेलिरहेको छु।’
उनलाई साउदीको सडकमा गाडी हाकेर थोरै पनि खुसी मिलेको छैन। तर, हाँकिरहेकै छन्। नेपालमा नै केही काम गर्ने सपना उनको नभएको होइन। पूरा गर्न दिएन परिस्थितिले।
‘मेरो पढाइ पनि निकै राम्रो थियो। नेपालमै केही गर्न सक्छु भनेर धेरै काम गर्न खोजेँ। जेजे गर्न खोज्दा पनि यता सियो उता फाट्ने, उता सियो यता फाट्ने भयो,' साउदीबाट अनलाइन कुराकानीमा उनले भने, 'काम पनि भने जस्तो नपाएपछि यहाँ ट्रक चलाउने ड्राइभर बनेको छु।’
घरपरिवारको खुसीका लागि परदेशको बाटो रोजेका भण्डारीको आफ्नै घरजग्गा थिएन। उनी हाल साउदीको जेद्दामा ग्लोब लुजिस्टिक्स कम्पनीमा हेभी ट्रक चालकका रुपमा कार्यरत छन्।
'जग्गा त अहिले पनि छैन,' उनले सुनाए, 'परदेश धाएरै पसिनासँग थोरै पैसा साटेर बस्ने झुपडीसम्म चाहिँ बनाएँ।’
उनी साउदीमा ट्रक ड्राइभर बनेको ३ वर्ष भइसकेको छ। २०१६ मा उनी युनिक म्यानपावर कम्पनीमार्फत साउदी गएका थिए। सुरुमा चालकको काम गर्दा एक लाखसम्म कमाइ हुने भए पनि अहिले मुस्किलले ६०/७० मात्र पाउने उनी बताउँछन्।
साउदीमा ट्रक चलाएर पनि अहिलेको जति तलबले घर चलाउन सकिन्छ जस्तो उनलाई लागिरहेको छैन। 'अब म नेपाल नै फर्कन्छु,’ उमेरले ३ दशक कटिसकेका भण्डारीले भने।
सरकारले विदेशबाट काम गरेर फर्किएका सिपयुक्त युवालाई १० लाखसम्म सरल कर्जा उपलब्ध गराउने कुरा आएसँगै उनलाई नेपाल फर्कन मन नलागेको होइन। तर, तत्काल निर्णय गरिहाल्न सकेका छैनन्।
नेपालमा आएर पनि के गर्ने? लगानी अनुसार प्रतिफल नभएर पैसा डुब्ने हो कि भन्ने सन्त्रासले सताउँछ उनलाई। ब्रेकफेल भएको ट्रक जस्तै साउदीमै अनियन्त्रित डुलिरहेको छ उनको मन।
एक दशकदेखि तातो सडकमा
पोखरा डेभिसफलका इन्द्रप्रसाद पराजुली पनि १० वर्षदेखि साउदीमा ट्रक ड्राइभरका रुपमा कार्यरत छन्। नेपालमा छँदा पनि पोखरामा झन्डै ५ वर्षजति उनले ट्याक्सी चलाएका थिए। ६ महिना त पोखरा-काठमाडौं माइक्रो चालकका रुपमा पनि काम गरे।
'तर, नेपालमा काम गरेपछि भनेजस्तो कमाई भएन,' उनले सुनाए, 'जीवन धान्न मुस्किल भएपछि के गर्नु भनेर परदेशको बाटो रोजियो।’
३७ वर्षीय पराजुलीको एक दशक साउदीको अलकत्रा पग्लिने सडकमा ट्रक हुइँक्याउँदै बित्यो। ‘खुनको बदला खुन दिमागमा राखेर ट्रक चलाउनुपर्छ। कुन दिन जेल जानुपर्ने हो, कहिले मृत्युदण्ड वा ब्लडमनीको सिकार हुनुपर्ने हो। टुंगो हुँदैन,’ उनले बाध्यता सुनाए।
साउदीमा कसैले कसैलाई हत्या गरेको ठहर भएमा 'खुनको बदला खुन' तिर्नुपर्ने हुन्छ। मृतकका परिवारका सदस्यले खुनको बदला खुन नै चाहिन्छ भनेर माग गरेमा अदालतले जो सुकैलाई पनि मृत्युदण्डको सजाए दिने व्यवस्था छ।
मृतकका परिवारका सदस्य वा नातेदारहरुले खुनको बदला खुन नलिएर ब्लडमनी अर्थात् व्यक्तिको हत्या भएबापत रकम माग गरेमा अदालतले प्रतिवादीहरुसँग ब्लडमनी तिराउन आदेश दिन्छ। ब्लडमनीपछि कानुनी प्रक्रिया अनुसार हत्याको आरोप लागेका व्यक्तिहरु जेलमुक्त गरिन्छन्।
गन्तव्यको चक्कर
तेह्रथुम फाक्चामाराका ३५ वर्षीय योगेन्द्र खतिवडा सामाजिक अभियान्ताका रुपमा कार्यरत थिए। उनी तेह्रथुमबाट इटहरी झरे। त्यहाँ परिवेश नयाँ भयो। आवश्यकता बढ्दै गए। परिवारको जिम्मेवारी थपिँदै गयो। त्यसपछि उनी परदेशको बाटो रोज्न बाध्य भए।
रोजगारीकै लागि खतिवडा ओमान पुगे।
ओमानमा एक वर्ष बसेर फर्केका उनी त्यसपछि कतार पुगे। कतारमा पनि सोचे जस्तो काम भएन। त्यसपछि उनको गन्तव्य बन्यो साउदी। अल्माराई कम्पनीमा १४ महिना हेभी ट्रक चालकका रुपमा काम गरेका उनी १४ महिनामै नेपाल फर्किए।
‘१४ महिना पनि १४ वर्ष जस्तै भयो, नोकर भन्दा तल्लो व्यबहार गरियो,' उनले भने, 'गड्डीहरुको देशमा पीडैपीडा। कमाइ राम्रो थियो तर साउदीका नागरिकले नेपालीलाई गर्ने व्यवहार मन नपरेर फर्किएँ।’
साउदीमा १४ महिना चालकको अनुभव लिएर उनी नेपाल फर्किएका छन्। अब यहीँ केही गर्ने योजनामा पनि छन्। ‘२०/३० हजारको कमाइले त आफू एक्लैलाई ठिक्क हुन्छ, नेपालमा के काम गरेर परिवार पाल्ने होला?’ उनले अन्योल व्यक्त गरे।
आफ्नै लापरबाहीका कारण ब्लडमनीको सिकार
गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीका अध्यक्ष नारायण पासवनका अनुसार धेरै नेपाली चालक आफ्नै लापरबाहीका कारण पनि उनीहरु ब्लडमनीको सिकार बन्न बाध्य हुन्छन्।
‘कतिपय अवस्थामा साउदीमा नेपाली चालकलाई हेप्ने, गल्ती नभए पनि जबरजस्ती आरोप लगाउने गरेको पाइन्छ,' पासवान भन्छन्।
साउदीमा गैरकानुनी रुपमा मादकपदार्थ सेवन गरी सवारी चलाउँदा सवारी अनियन्त्रित भई धेरैजसो दुर्घटना हुने गरेको उनको भनाइ छ। 'कतिपय नेपाली चालकले साउदीको सडकमा सवारी चालक अनुमतिपत्र बिना नै सवारी चलाउँदा पनि समस्या आउने गरेको छ,' उनले भने।
चालकलाई कस्तो कडाइ?
साउदीमा सवारी चालक अनुमतिपत्र लिएर मात्रै सवारी चलाउन पाउने व्यवस्था गरिएको छ। सवारी चलाउँदा सिटबेल्ट प्रयोग गर्नैपर्छ। सिटबेल्ट बिना सवारी चलाए १ सय ५० साउदी रियाल जरिवाना गरिने उल्लेख गरिएको छ।
गलत ठाउँमा पार्किङ गरेको पाइएमा सानो सवारीसाधनका लागि ३ सय रियाल र ठूला सवारीसाधनका लागि ५ सय रियाल तिर्नुपर्छ। सवारी चलाएको बेला मोबाइल फोनको प्रयोग गरेको भेटेमा ५ सय रियाल जरिवाना गरिने व्यवस्था छ।
निषेधित ठाउँमा प्रवेश गरेमा १ हजार र रेडसिग्नल क्रस गरेमा ५ सय रियाल जरिवाना लाग्छ।
सडकमा गल्ती गरेर जरिवाना तिर्नुपरेमा कम्पनीले सहयोग नगर्ने हुँदा आफ्नै खल्तीबाट बुझाउनुपर्ने साउदीमा कार्यरत नेपाली चालकहरु बताउँछन्। गम्भीर दुर्घटनामा परेमा अदालतसम्म पुर्याउने साउदीको ट्राफिक नियम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।