वि.सं. १९८० तिर धर्मभक्त माथेमा यति दुब्ला थिए, उनी पढ्न बसेको भारतको कोलकातास्थित स्कटिस चर्च कलेजका ठिटाहरू उनलाई हाकाहाकी जिस्काउने गर्थे– ‘देखो... गोर्खा लोग’ भनेर।
उनी त्यतिबेला दार्जिलिङमा १० कक्षाको पढाइ पूरा गरेर आइए पढ्न कोलकाता बस्ने गर्थे। उनलाई कलेजमा अरुले ‘गोर्खा’ भनेर जिस्काएको मन परेनछ। बुवा आदिभक्तकहाँ गुनासो पोख्न पुगेछन्। तर, आदिभक्तलाई छोराको गुनासो फिटिक्कै मन परेनछ। कड्केर भनेछन्, ‘थुइक्क लाछी! यति सानो कुरा मलाई भन्न आउँछस्। मलाई कुरा सुनाउनुको साटो अलिकति ज्यान बना।’
बुवाको कुरा सुनेपछि धर्मभक्तलाई पनि लागेछ– हो, ज्यान नभएकै कारण उनीहरूले मलाई जिस्काएका होलान्!
त्यसपछि उनले ज्यान कसिलो बनाउने निधो गरे। नभन्दै धर्मभक्तले २–३ वर्षभित्रै यति गजबको ज्यान बनाए, पछि उनी ‘मिस्टर बंगाल’ नै घोषित भए।
धर्मभक्तका बुवा आदिभक्तले १९५७ सालमा पाँचौं राणा प्रधानमन्त्रीका रुपमा चन्द्र शमशेर राणाको उदयपछि नेपाल छाड्नुपर्यो। माथेमा परिवारको सम्बन्ध चन्द्र शमशेर अगाडिका प्रधानमन्त्री देव शमशेरसँग विशेष सम्बन्ध थियो। देव शमशेर प्रधानमन्त्री हुँदा आदिभक्त सुब्बा पदमा नियुक्त थिए।
धर्मभक्त कोलकातामा अध्ययनरत रहँदा उनको सम्बन्ध जुद्ध शमशेर राणाका नाति नर शमशेरसँग स्थापित भयो। नर शमशेर त्यतिबेला खेलकुदका लागि अक्सर कोलकाता गइरहन्थे। नरले कोलकाता जाँदा धर्मभक्त शारीरिक सुगठनका स्टार खेलाडी भएको पत्तो मात्र पाएनन्, उनीसँग शारीरिक सुगठनको कला पनि सिके।
जिमखाना खोल्नुअघि धर्मभक्तले प्रधानमन्त्री जुद्धबाट स्वीकृति लिनुपरेको थियो। त्यतिबेला जुद्ध शमशेरले ‘भिडभाड नगर्नू’ भन्दै स्वीकृति प्रदान गरेका थिए।
१९८८ सालमा राणा प्रधानमन्त्रीका रूपमा जुद्धको उदयपछि धर्मभक्तको परिवारले केही राहत महसुस गर्यो। कारण थियो, जुद्ध ‘कमान्डर इन चिफ’ हुँदा उनलाई धर्मभक्तका बुवा आदिभक्तले धेरै पल्ट आर्थिक सहयोग गरेका रहेछन्। त्यसैले जुद्धको कार्यकालमा धर्मभक्तलाई काठमाडौं बस्न खासै गाह्रो भएन।
काठमाडौं आगमनसँगै उनले ओमबहालमा आफ्नी फुपू युगकुमारी रायको घरमा जिमखाना खोलेका थिए। यो नेपालको पहिलो जिमखाना थियो।
जिमखाना खोल्नुअघि उनले प्रधानमन्त्री जुद्धबाट स्वीकृति लिनुपरेको थियो। त्यतिबेला जुद्ध शमशेरले ‘भिडभाड नगर्नू’ भन्दै स्वीकृति प्रदान गरेका थिए। तर, उनको जिमखानाले सर्वसाधारण जनता मात्र होइन, राणालाई पनि आकर्षित गर्यो।
१९९० मा टुँडिखेलमा घोडेजात्रा आयोजना हुँदा त्यहाँ धर्मभक्तले आफ्नो गठिलो शरीरको सौन्दर्य र कला देखाउने अवसर पाए। त्यसबेला जर्मनी सेनाको एउटा टुकडी नेपाल आएको थियो। त्यो सैन्य टुकडी धर्मभक्तको शारीरिक सुगठन देखेर अचम्मित भएको थियो।
घोडेजात्रामा धर्मभक्तको शारीरिक प्रदर्शनबाट तत्कालीन राजा त्रिभुवनलाई खुब घत परेछ। उनले तत्कालै जुद्धसँग व्यायाम सिक्ने इच्छा प्रकट गरे।
त्यसपछि धर्मभक्त रातारात राजा त्रिभुवनका शारीरिक सुगठन गुरु बने। जुद्धले पहिलो पल्ट त्रिभुवनकहाँ भेटाउन लैजानुअघि धर्मभक्तलाई भनेका थिए, ‘तिमी आफ्नै मानिस हौ। तर, राजासँग होसियार रहनू।’
१९९७ सालमा राणा शासन विरुद्ध लागेको आरोपमा धर्मभक्त समातिँदा पहिलो पल्ट पोल खुलेको थियो– उनकै सक्रियतामा ९० सालमा ५ जना सहयोगी मिलेर उनकै घरमा राणाविरोधी पार्टी प्रजा परिषद् स्थापना भइसकेको रहेछ।
जिम सिकाउने निहुँमा धर्मभक्तले नै राजा त्रिभुवनलाई सुरुका दिनमा प्रजा परिषद्को गतिविधिबारे अवगत गराउँथे।
धर्मभक्तलाई १९९७ साल माघ १२ गते मध्यरातमा काठमाडौंको सिफलमा झुन्ड्याएर मारियो। त्यतिबेला उनी ३२ वर्षका थिए।
सिफलस्थित खरिबोटमा झुन्ड्याउन पहिलो पल्ट उनलाई पासो हाल्दा रुखको हाँगा नै लच्किएको थियो। दोस्रो पल्ट हाँगा नै भाँच्चियो। तेस्रो प्रयासमा मात्र उनलाई झुन्ड्याउन सफल भएका थिए, राणाका सिपाहीहरू।
‘प्रधानमन्त्री जुद्ध शमशेर राणाले मन पराउने भएर अन्तिमसम्म उहाँले माफी मागोस् भन्ने थियो। तर, उहाँले राणा शासनको अत्याचार विरुद्ध माफी माग्नुभन्दा सहिद हुनु वेश ठान्नुभयो’, धर्मभक्तका भतिजा केदारभक्त भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।