काठमाडौं– ४ वर्ष बित्यो।
भूकम्पको धक्का उनको मानसपटलमा अझै ताजा छ।
२०७२ साल बैसाख १२ गते महाभूकम्प आयो।
त्यतिबेला ६७ वर्षीय गोमा श्रेष्ठ साँखुबजारस्थित आफ्नै घरमा सुतिरहेकी थिइन्।
बिहान ११ बजेर ५६ मिनेट जाँदा एक्कासि ‘ढ्याङ् ढ्याङ’ गरेको ठूलो आवाज सुनियो।
गोमा सुतेको बेड बेतोडले हल्लियो। उनी अत्तालिँदै बाहिर निस्किइन्।
‘गर्ल्याम्म..!’
बाहिर निस्कन नपाउँदै ढल्यो घर। इँटाहरू खसेर गोमाको खुट्टासम्म आइपुगे। उनी सामान्य घाइते भइन्।
तीन तलामाथि बुहारी र नाति सुतिरहेका थिए। घरले ती दुवैलाई आँखैअगाडि किच्यो।
माथिबाट सबै इँटाहरू आँगनमा थुप्रिए। बाहिर निस्किएर गोमा ठूलो स्वरमा चिच्याइन्।
थुप्रिएका इँटाहरू उचाल्दै बुहारीलाई बोलाइन्, ‘कान्छी.. सुर्ज, तँ कहाँ छस्।’
‘बुहारीले इँटाको मुनिबाट कतै हजुर आमा भन्लिन् र म इँटा पन्छाएर बुहारीलाई निकाल्छु’ भन्दै गोमाले थुप्रिएका इँटा पन्छाउन थालिन्।
तर, आवाज आएन। केही जोर नचलेपछि वरपर छिमेकीलाई हारगुहार गरिन्।
छिमेकीहरूको हालत पनि उस्तै। नजिकैका सबै घर भत्किएका थिए। मानिसहरू कोही पुरिएका थिए। कोही बाहिर बसेर रोइरहेका थिए।
घर भत्किएको केही समयपछि गोमाका श्रीमान् र छोराहरू पसलबाट ‘हस्याङ्फस्याङ’ गर्दै आएपुगे।
जेठी बुहारी माइत गएकी थिइन्। छोराले फोन गरे, फोन लागेन।
कान्छो छोरा ‘सुर्ज खोइ?’ भन्दै हतारिँदै आए।
‘बुहारी र नातिलाई घरले किचेको छ, छिटो निकाल’ भन्दै चिच्याइन् गोमा। सबैजना इँटा र माटो पन्छाउन थाले।
नाति र बुहारी त भेटिए। तर, दुवै रक्ताम्य थिए, अचेत थिए।
‘ती दुवैलाई कालो दिनले लग्यो, हाम्रो परिवारको खुसी खोसियो,’ आँखामा लत्पतिएको आँसु पुछ्दै गोमा बर्बराउँछिन्।
बैसाख १२ को दिन सम्झँदा उनको अनुहारको घाम अस्ताउँछ।
०००
दुई छोरा र दुई छोरी। चार सन्तानकी आमा हुन् गोमा।
सबैको बिहे भइसकेको थियो।
परिवारमा जेठा छोराको दुई र कान्छाको दुई बच्चा थिए।
दुर्भाग्य, कान्छी बुहारी सुर्जमाया र ४ महिनाको नातिलाई भूकम्पबाट गुमाउनुपर्यो उनले।
‘धन्न अलिकतिले बाँचे। तर, बुहारी र नाति बचाउन सकिनँ,’ उनी सुक्सुकाउँदै भन्छिन्।
भूकम्प गएको दिन गोमाका श्रीमान् र छोराहरू नजिकैको पसलमा थिए। पसलमा भएकाले भूकम्प जाने बित्तिकै उनीहरू सडकमा निस्कन पाए।
‘धन्न बाँचे उनीहरू,’ गोमा खुइ काट्छिन्।
घर भत्किएपछि खेतमा बितेका रात
घर त भत्कियो, पसल पनि बाँकी रहेन। जिर्ण घर जस्तै भयो गोमाको मन।
‘खानेकुरा लुगाफाटो सबै पुरियो। भएको अन्न पनि अन्न रहेन,’ ती क्षण सम्झँदै गोमा भन्छिन्, ‘ खानका लागि केही थिएन। दुःखले बिते धेरै रात।’
घर भत्किएपछि ६ महिनाभन्दा बढी साली नदी नजिकको खेतमा बास भयो उनीहरूको। त्यसपछि दुई सदस्य गुमाएको आलो घाउ।
खेतको डिलमा टाँगिएको त्रिपाल कहिले पानीले चुट्थ्यो, कहिले हुरीले लुछ्थ्यो।
श्रीमती र सन्तान गुमाएको कान्छा छोराको आँखा ओभानो थिएन। निकै कहालीलाग्दो थिए ती दिन।
गोमा ती पल भूल्ने प्रयत्नमा छिन्। तर, प्रत्येक वर्षको बैसाख १२ ले फुटाउँछ मनको बाँध।
अझै पनि टहरामा बित्छ बास
साखुँ बजार नजिकै छ सानो जस्ताको छाप्रो छ।
सरकारले भूकम्प पीडिताई दिएको ५० हजारमा केही रकम थपेर छाप्रो बनाएका हुन् गोमा परिवारले।
उनीहरू त्यही छाप्रोमा बस्दै आएका छन्। भूकम्पपछि छोरी र नातिनीहरू समेत त्यहीं बस्छन्।
नयाँ घर बन्ने कुनै छाँट छैन।
आफूहरूलाई सरकारले आशामात्र देखाएको उनको गुनासो छ। भन्छिन्, ‘सरकारले दिएको ५० हजारले त जस्तापाता पनि आउँदैन, ३ लाख दिने भनेर लोभ देखायो, अहिले घर निमार्णका लागि डिपिआर तयार पारेपछि मात्रै दास्रो किस्ता पाउने भनेर अल्झायो, डिपिआर निर्माण गर्न धेरै समय लाग्छ, हामीले कहाँबाट पैसा ल्याएर तयार गर्नु?’
गोमाको मात्रै होइन, काठमाडौंको उत्तरपूर्वी भेग साँखु बजारमा ८ सयभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको स्थानीयहरू बताउँछन्।
आंशिक रुपमा पनि थुप्रै घर क्षति भएका थिए।
‘भुकम्पपछि धेरै जसोको जस्ताको टहरामा बास छ,’ स्थानीय जानकार पवनलाल श्रेष्ठले भने, ‘आफूसँग पैसा हुनेले सरकारले दिएको रकममा थपथाप गरेर घर बनाए।
दोस्रो किस्ताको रकम पाउन घरको डिपिआर बनाइ नक्सा पेस गर्नुपर्छ। तर, सबैसँग डिपिआर निमार्ण गर्नेसम्म पैसा छैन।’
उनले थपे, ‘फेरि डिपिआर बनाएर मात्रै पनि भएन। घर बनाउने पैसा पनि त हुनुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।