काठमाडौं– चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्धार हो तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पाताला बस्ती छिचालेर हिड्नुपर्छ। यी नै बस्तीहरुलाई पार गरेर पुगिने हेलम्बुको प्रवेशद्धार हो तेम्बाथाङ। लालीगुराँस लगायत घना बुट्यानबीच झण्डै एक सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरु ठडिँदै गरेका छन्।
यो बस्ती ह्योल्मोको संस्कृतिले भरिपूर्ण छ। उत्तरतिरबाट हाँसिरहेका जस्ता लाग्ने आमायाङ्ग्री, दोर्जे लाक्पा, थाङ्पालछ्योलगायत आधा दर्जनको संख्यामा रहेका हिमालहरुले यस क्षेत्रकाे थप शाेभा बढाएकाे छ। यहाँ ह्योल्मो समुदायले आफ्नै संस्कृतिकाे आडमा एकीकृत बस्ती बसाइरहेका छन्।
.jpg)
पश्चिम–उत्तरतिर फर्केको अलिअलि भिरालो, गह्रा-गह्रा परेको भूगोलमा ३८ वटा हरियाे जस्ता लगाएका एकैनासका घर उभिएका छन्। दुई वटा बन्दैछन्।
सबै घरको अगाडिपट्टिको मुख्य झ्याल एकैनासका छन्, कलात्मक बुट्टा कुँदिएका।
यो हो, ह्योल्मो संस्कृति झल्काउने हेलम्बु गाउँपालिका–१ मा पर्ने तेम्बाथाङ एकीकृत बस्ती। हरिया जस्ताका छानाले टिलिल्क टल्किएको बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ। यसै महिनाको सुरुतिर हिउँ र वर्षाले अवरोध नगरेको भए यतिबेलासम्म निर्माण कार्य सकिइसकेको हुने थियो।
हरेक घरमा एकैनासको ह्योल्मो संस्कृतिको बुट्टा कुँदिएको परम्परागत झ्याल ‘नाम्बा कोसुङ’ लगाइएको छ। यस्तो बुट्टेदार झ्याल लगाएर घर बनाएपछि घरमा अशुभ तत्व प्रवेश नगर्ने विश्वास ह्योल्मो समुदायमा छ। त्यही विश्वासका कारण करिब ७० हजार रुपैयाँ खर्च गरेर लाभग्राहीले यो झ्याल बनाएका छन्।
.jpg)
४२ रोपनीमा फैलिएको यो एकीकृत बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम, हेलम्बु गाउँपालिका तथा स्थानीयको बहुपक्षीय साझेदारीमा निर्माण भइरहेको छ। निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गरिरहेको छ, जनहित ग्रामीण सेवा समितिले। यहाँ बस्ने लाभग्राहीले सरदर १ सय ५० दिन श्रमदान समेत गरेका छन्। दुई वर्षअघि २०७४ माघ २५ मा बस्ती निर्माण सुरु भएको हो।
बस्तीको प्रत्येक घर ८ आना क्षेत्रफलमा बनेको छ। पछि बढाउन मिल्नेगरी घर निर्माण गरिएको छ। सबै घरहरुमा खानेपानीका धारा र शौचालयको व्यवस्था गरिएको छ। पिउने पानीका लागि २० हजार लिटरको ट्ंयाकी बनिसकेको छ। सामाजिक र सांस्कृतिक कार्य गर्न सामुदायिक भवन बनाउने प्रक्रिया सुरु भएको छ।
बस्ती निर्माणमा प्रत्यक्ष नेतृत्व गरिरहेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माका अनुसार एउटा घर बनाउन करिब ७ लाख रुपैयाँ खर्च भएको छ। गैरसरकारी संस्थाले सहयोग गरेकोले यहाँका लाभग्राहीले आवास निर्माणमा पुनर्निर्माण प्राधिकरणबाट अनुदान पाउँदैनन्। भौतिक पूर्वाधार निर्माणमा एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधिअनुसार आर्थिक अनुदान पाउँछन्, जुन गाउँपालिकामार्फत खर्च हुन्छ।
शर्माका अनुसार एक महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर उद्घाटन गर्ने लक्ष्य राखिएकाे छ।
तेम्बाथाङ एकीकृत बस्ती केन्द्रका अध्यक्ष तथा यस बस्तीका एक लाभग्राही साङ्गे लामाले झण्डै दुई वर्षदेखिको सपना साकार हुन लागेकोमा खुसी व्यक्त गरे। पर्यटन व्यवसायमा संलग्न लामा आफैैं भूकम्प प्रभावित हुन्। यहाँका ४० घरमध्ये एउटा उनकाे पनि एक हो।
भूकम्प प्रभावित गाउँलेलाई एकीकृत बस्तीमा ल्याउनका लागि निकै नै मेहनत गर्नुपरेको अनुभव सुनाउँदै लामाले भने, ‘एकीकृत बस्तीमा बस्न म स्थानीयलाई सम्झाउँथे। तर, केही खराब नियत भएकाहरु भड्काइदिन्थे। मैले एकीकृत बस्तीमा बस्दा फाइदाबारे सम्झाएँ। अन्ततः स्थानीयबासीले मान्नुभयो।’
.jpg)
घर निर्माणमा प्रयोग भएका इँटा स्थानीयहरुले तेम्बाथाङमै बनाएका हुन्। ‘इन्टरलक’ इँटा बनाउन स्थानीय १५ जनाले ‘बिल्ड अप’ नामक संस्थाबाट तालिम लिएका थिए। उक्त संस्थाले दुई वटा इँटा बनाउने मेसिन उपलब्ध गराएको छ।
एकीकृत बस्तीमा विद्यालय र स्वास्थ्य चौकी स्थापना गर्न लाभग्राहीले पहल थालिसकेका छन्। तेम्बाथाङ वरिपरि विद्यालय र स्वास्थ्य चौकी नहुँदा स्थानीयहरु ३ घण्टाको दूरीमा रहेको तिम्बुमा जान बाध्य छन्।
एकीकृत बस्तीमा बसोबास गर्ने लाभग्राहीको जीविकोपार्जनमा टेवा पुग्नेगरी होमस्टे सञ्चालन गर्ने स्थानीयको योजना छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।