प्युठान- गर्मीको पारो बिस्तारै मुलुकभर बढ्दै छ। प्युठानको झिमरुक-८ स्थित दिहाल्नामा भने गर्मीको महसुस अहिलेसम्म गर्नुपरेको छैन।
नयाँ वर्षको पहिलो दिन प्रस्तावित लालीगुराँस रंगशालामा सिरसिरे बतासले आगन्तुकलाई आनन्दित बनाएको थियो। नयाँ वर्षसँगै स्थानीय र क्रिकेट खेलाडी आउने क्रम रंगशालामा बिस्तारै बाक्लिएको छ।
बैशाख १ गते मध्यान्ह १२ बजे आसपास स्थानीय दुई टिमको स्पर्धा चल्दै थियो। क्रिकेटप्रति क्रेज बढ्दै गइरहेको छनक नवयुवाहरुबाट सहजै भेउ पाउन सकिन्थ्यो। स्थानीय मदन भण्डारी स्पोर्टस् एकेडेमी र गौमुखीका खेलाडीबीच खेल जारी थियो।
मदन भण्डारी स्पोर्टस् एकेडेमीका खेलाडीले गरेको बलिङमा गौमुखीका खेलाडीले चौका प्रहार गरे। बल मैदान पार गरी भिरबाट ओरालो लाग्यो। बलको अभावमा खेल रोकियो। दुबै टिमका खेलाडी बल खोज्न भिर तिर लागे। करिब ५०० मिटर तल पुगेर बल प्राप्त गरेसँगै खेल पुनः सुचारु भयो।
भौतिक सुविधा छैन, खेलप्रति मोह छ
पञ्चायतकालमा विमानस्थल बनाउन पहल भएको सरकारी जग्गामा स्थानीय निकायले खेलमैदान बनाउने प्रयास गरेको छ। करिब दुई सय रोपनी रहेको सरकारी जग्गाको एक साइडमा खेलमैदान निर्माण गरिएको छ। जग्गा सम्याउने कार्य बाहेक खेलकुदका लागि भौतिक संरचना बन्न सकेको अवस्था छैन।
पहाडी जिल्लामा उच्च स्थानमा रहेको खेलमैदानको लागि १२ लाख रुपयाँ खर्चिएको झिमरुक-८ का वडाध्यक्ष तुलसबहादुर बस्नेतले जानकारी गराए। फुटबल र क्रिकेट खेलका लागि प्रत्येक शनिबार युवाहरुले मैदान प्रयोग गरेका छन्। तर, पूर्वाधार बिना। चौतर्फी तारजालीको अभावमा क्रिकेट बल ओरालो लाग्ने गरेको छ। कतिपय समयमा बल हराउँदा अर्को हैरानी युवाहरुले खेप्नु परेको छ।
प्रस्तावित लालिगुराँस रंगशालामा पानीको समस्या छ। अर्कातर्फ खेल मैदानमा गाइवस्तु सहजै प्रवेश गर्छन्। जसले गर्दा खेल अवरुद्ध हुन्छ।
२०७१ सालबाट मैदानमा औपचारिक रुपमा खेल सुरु गरिएको थियो। गत वर्ष जिल्लाकै ठूलो प्रतियोगिता यसै मैदानमा सम्पन्न भएको थियो। १९ टिम सहभागी क्रिकेट खेलमा राष्ट्रिय स्तरका खेलाडीहरु पनि सहभागी भएका थिए।
‘तीन दर्जन बल हराउँछन्’
स्थानीय युवाहरुको क्रिकेट खेलप्रति मोह बढेको छ। प्रत्येक शनिबार दुई घन्टाको पैदल यात्रा गरी खेल्नका लागि रंगशाला आइपुग्छन्। नव वर्षका दिन प्रतिस्पर्धाका लागि आएका रंगशालाको दुदर्शा सुनाउँदै नेपाल क्रिकेट सपोर्टर समूहका एक युवाले भने, ‘रंगशाला भनिएपनि पानीको अभाव छ। गाइवस्तु छिरेर डिस्टर्व गर्छन्।’
मैत्रीपूर्ण एक खेलमा पनि एक दर्जन बढी बल हराउने गरेको उनले सुनाए। उनी थप्छन्, ‘जिल्ला वा अञ्चल स्तरीय प्रतियोगितामा ३ दर्जन बल हराउँछन्।’ स्थानीय तहबाट खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको अभाव छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीले युवाहरुलाई टिसर्ट बाँडेपनि युवाहरुको खेलप्रतिको लगाव बुझ्न भने सकेको छैन।
खेलकुदसँगै पर्यटनलाई जोड्न सकिनेमा वडाध्यक्ष बस्नेत विश्वस्त छन्। तर, कुन मोडलबाट मैदानको संरचना निर्माण गर्ने,बजेट कति लाग्नेमा उनी अनभिज्ञ छन्। पानीको समस्या स्थानीय तहबाट सम्भव नहुने उनले बताए। उनी भन्छन् ‘१५/१६ किलोमिटरदेखि पानी ल्याउनुपर्ने छ। यसका लागि स्थानीय स्थानीय तहको बलले मात्रै सम्भव हुँदैन।’
प्युठान सदरमुकाम खलङ्गाबाट ३६ किलोमिटरको दुरीमा रहेको रंगशालाको भविष्य सुनौलो देखिएपनि वर्तमान भने पीडामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।