काठमाडौं- शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताएका छन्।
नेपाल ख्रिस्टियन महासङ्घले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको जिकिर गरे।
'धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न', मन्त्री राईले भने।
विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नेपाली कांग्रेसलाई पनि रचनात्मक सहयोग गर्न उनले आह्वान गरे।
कांग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइकाे सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्याङ्कन गर्न केही समय कुर्नुपर्ने भनाइ राखे।
कार्यक्रममा महासङ्घका अध्यक्ष सिवी गहतराज लगायतले सरकारको दृष्टिमा सबै धर्म समान हुनुपर्ने बताएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।