भैरहवा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार कांग्रेसले सुरु गरेका आयोजनाको उद्घाटन र फोटो खिचाउँदैमा मख्ख परेको बताएका छन्। सरकारले नयाँ काम गर्न नसकेकाले पुर्ण रुपमा असफल भएको आरोप समेत लगाएका उनले भने, 'वर्तमान ओली नेतृत्वको सरकार कांग्रेसले शुरु गरेका आयोजनाको उद्घाटनमा पुगेर फोटो मात्र खिचाएर समृद्धिको रटान दिने शिवाय केहि गर्न सकेको छैन।'
नेपाली कांग्रेस रुपन्देही-३ ले भैरहवामा आयोजना गरेको सम्मेलनमा सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्टले देश र जनताको बारेमा नसोची केवल पार्टीको बारेमा मात्रै सोचेको आरोप लगाए।
विकासका प्राथमिकता छुट्टाउन नसकेर सरकारले अरुले गरेका काम देखाउँदै समृद्धिको यात्रामा अगाडि बढेको खोक्रो नारा लगाउँदै हिँडेको मात्र जिकिर गरे।
'जनतालाई पानी र सिँचाईं चाहिएको छ, प्रधानमन्त्री पानी जहाज भन्दै छन्। जनतालाई शान्ति शुरक्षा र अमन चयन चाहिएको छ, एक वर्ष बित्दासमेत निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेको छैन,' नेता पौडेलले भने, 'त्यसैले हामी भन्दै आएका छौं यो कम्युनिष्ट सरकारको नियत नै ठिक छैन।'
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले काग्रेसले युद्ध जितेपनि लडाई हारेको टिप्पणी गरे। उनले एक पटकको चुनाव हार्दैमा शिर निहुराउनु नपर्ने बताउँदै आगामी चुनावमा बहुमत ल्याउने गरी पार्टी परिचालन गर्नुपर्ने बताएका थिए।
त्यस्तै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सरकारले शान्ति शुरक्षा र अमनचयनमा कमजोर सावित भएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु सरीता प्रसाई, कमला पन्त, सांसद प्रकास रसाईली, पर्व राज्यमन्त्री तथा रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, क्षेत्र नम्बर दुईका क्षेत्रिय सभापति हरी लम्साल, मातृका प्रसाद यादव, महासमिति सदस्य माधवी शर्मा वाग्ले, क्षेत्रिय उपसभापति पुरन प्रसाद श्रेष्ठ, सचिव शुशिल गुरुङ, कोषाध्यक्ष कृष्ण खनाल लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।