काठमाडाैं- संघीय संसद्को बजेट अधिवेशन बैसाख १६ गतेदेखि सुरु हुने भएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारी बैसाख ११ गते ९ दिनका लागि चीन भ्रमणमा निस्कने भएका कारण अधिवेशन चाँडो बोलाउने तयारी भएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ।
यसअघि गत पुस ११ देखि सुरु भएको हिउँदे अधिवेशन चैत १० मा अन्त्य भएकाे थियाे। साे क्रममा प्रतिनिधिसभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए। त्यसमध्ये दुवै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका थिए।
राष्ट्रियसभातर्फ ७ विधेयक दर्ता भई ३ वटा प्रमाणीकरण भएका छन्। प्रतिनिधिसभातर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रियसभामा दर्ता भएका विधेयक मध्ये ४ विधेयक पारित हुन बाँकी रहेका छन्।
बजेट अधिवेशनकाे तयारीसँगै बजेटमा आफ्ना योजना पार्न फाइल बोकेर सांसदहरु अर्थदेखि विभिन्न मन्त्रालय धाइरहेका छन्। प्रधानमन्त्री केपी ओलीले पनि बजेटका सिद्धान्त र आधारबारे सांसदहरुसँग सुझाव संकलन गरिरहेका छन्।
प्रदेश नम्बर १ र ७ का सांसदसँग छलफल गरिसकेका प्रधानमन्त्री ओलीले केही दिनभित्रै अन्य प्रदेशका सांसदसँग पनि छलफल गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।