रोल्पा- गरिबको सत्ता स्थापना गर्ने भन्दै रोल्पाबाट १० वर्ष लामो सशस्त्र युद्धको थालनी भयो। यहाँबाट झन्डै एक हजारले बलिदानी गरे। घाइते तथा अपांगको लेखाजोखा छैन। भौतिक सम्पत्तिको क्षति त कतिकति। द्वन्द्वबाट कुनै रोल्पाली अछुतो रहेन। कोही राज्यबाट पीडित भए त कोही विद्रोहीबाट।
सशस्त्र संघर्ष शान्ति प्रक्रियामा रुपान्तरण भयो। देश संघीय लोकतान्त्रीक गणतन्त्रमा प्रवेश गर्यो। व्यवस्था फेरियो आमूल परिवर्तनका लागि लडेका रोल्पालीको अवस्था भने फेरिएन। अझै पनि ठूलो संख्याका रोल्पालीहरु भोकभोकै दिन गुजार्न बाध्य छन्।
रोल्पाली यस्तै प्रतिनिधि पात्र हुन्, रोल्पा नगरपालिका २ रेउघाका सुनार परिवार।
जिल्ला अस्पताल नजिकै सरकारले बनाइदिएको एक झुपडीमा बस्दै आएका छन् उनीहरु। अस्पताल नजिकै छ तर लामो समयदेखी बिरामी भई मृत्युसँग लड्दै गरेकी छिन् ५७ वर्षीया आसारा सुनार।
अस्पतालसम्म पुर्याउने न कुनै सहारा छ न त उपचारका लागि चाहिने पैसा नै। उनीसँगै दाजु ६० वर्षीय गोपाल र भाइ ५५ वर्षीय प्रसाद सुनार पनि बिहान बेलुकाको खाना जोहो गर्न तड्पिइरहन्छन्।
बोल्न नसक्ने उनीहरु हातको संकेतबाट कुरा गर्छन्। घरमा खाना नभएका कारण कैयौं रात भोकभोकै सुत्न बाध्य हुन्छन्।
घर नजिकै ब्रोइलर कुखुराको फार्म छ। जसका कारण दुर्गन्धले बसिसक्नु छैन तर उनीहरुलाई भने त्यो दुर्गन्ध सहेर बस्नुको अर्को विकल्प पनि छैन। किनकि उनीहरुको पक्षमा बोलिदिने को नै छ र?
राजनीतिको र थाहा नभएको यो परिवार पनि धेरै पटक सशस्त्र द्वन्द्वको सिकार बन्यो। कुनै बेला राज्यको दृष्टिमा रोल्पाका ढुंगा, माटो, रुख, वृक्ष सबै माओवादी ठहरिन्थे। बोल्न नसक्ने सुनार परिवार पनि कैयौं पटक माओवादी बनाइयो।
निर्वाचनको बेला घरघर पुगे सबै पार्टी। निर्वाचनपछि भने यो परिवारलाई हेर्न कसैले आवश्यक ठानेको छैन।
न सुत्नका लागि ओछ्यान छ। न त खानका लागि अन्न नै। मागेर पेट पाल्ने तीन दाजु बहिनी बोल्न सक्दैनन्। सबैको उमेर ५५ कटिसकेको छ।
वृद्धावस्थाका कारण राम्रोसँग आँखा नदेखे पनि जीविको धान्ने उपाय बनेको दाम्ला र डोरी बुन्ने काम भने छोड्न सकेका छैनन्। जाडो होस या गर्मी एकसरो कपडामै हुन्छन उनीहरु। उनीहरुको खुट्टाले अहिलेसम्म जुत्ताचप्पल देख्न पाएको छैन।
बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरु पछिल्लो पटक सरकारले निर्माण गरेको झुपडीमा बस्दै आएका छन्। पहिले बुवाआमाले गाउँमा कटुवाल काम गर्थे। एक ठाउँको समाचार अर्को ठाउँमा पुर्याउने। गाउँमा हुने महत्वपूर्ण कार्यक्रमको खबर आदानप्रदान गर्ने काम गरेबापत खलोको रुपमा अन्न दिने चलन थियो।
खलो संकलनबाट जीविका चलाएका उनका बुबा आमाको मृत्युपछि भने उनीहरु बेवारिसे बनेर हिँड्न बाध्य भए। अहिले उनीहरुसँग सरकारले बनाइदिएको सानो झुपडी र त्यस वरपर रहेको जग्गा मात्र बाँकी छ।
दाजु गोपाल र भाइ प्रसादले गाउँलेले ल्याइदिएको भिमलबाट दाम्लो र डोरी बुन्ने गर्छन्। त्यसबापत दिने २/४ माना अन्न र सय/पचास रुपैयाँ नै परिवार बाँच्ने आधार बनेको छ।
गाउँमा हुने विवाह तथा शुद्धि कार्यमा गएर कैयौं दिनका छाक टार्ने गर्छन् उनीहरु। त्यस्ता काममा गएका उनीहरुलाई गाउँलेले कृपा गरेर दिने एकदुई सय रुपैयाँ पनि साँझ बिहान जोहो गर्ने आधार बनेको छ।
वडा कार्यालयले दाजु गोपाललाई ज्येष्ठ दलित भत्ताबापत मासिक एक हजार र भाइ प्रसादलाई मासिक ६ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ। आफन्त हर्कमान विक र गनवहादुर विकले भत्ता बुझिदिने गरेको वडा कार्यालयले जनाएको छ।
'वडा कार्यालयको अभिलेखमा आफन्त मार्फत नियमित भत्ता बुझेको देखिन्छ,' वडाध्यक्ष खिमबहादुर घर्तीले भने, 'बहिनी आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन आएकाले भत्ता दिइएको छैन। दाम्ला बुनेको ज्यालाबापत पाउने २/४ माना अन्न र सरकारले उपलब्ध गराएको भत्ता नै उनीहरु बाँच्ने आधार बनेको छ।'
नापी नक्सा गर्दा उनीहरुको हकभोगको जग्गा समेत दर्ता नगरी छुटाइदिएका कारण अहिले सार्वजनिक जग्गाको रुपमा उपयोग भइरहेको वडाध्यक्ष घर्ती बताउँछन्। बुवाको पालासम्म अब्बल जग्गाको धनी उनीहरु बुवाआमाको मृत्युपछि भने गाउँका मुखिया जिम्मेवालका कारण सुकुम्वासी अवस्थामा पुगेका छन्।
बोल्न नसक्ने र शारीरिक अवस्था पनि कमजोर बन्दै गएपछि थप समस्या आइलागेको छ सुनार परिवारमा। पोषणको अभावमा त्यस्तो समस्या आएको हुन सक्ने बताउँछन्, स्वास्थ्यकर्मी कुलबहादुर डाँगी।
'सानैदेखि कुपोषणको दुश्चक्रले परिवारका सबै सदस्यलाई छोएको देखिन्छ,' डाँगीले भने, 'बुवाआमाको मृत्युपछि उनीहरुको पालनपोषण गर्ने कोही नहुँदा जीविका चलाउन निकै मुस्कि परेको छ। स्थानीय सरकारले विशेष संरक्षण र रेखदेख गरे निकै राम्रो हुने थियो।'
राजनीतिक परिवर्तनले यस्तो परिवारलाई छुन सक्नुपर्ने पत्रकार उमा केसीको धारणा छ। एकछाक खान नपाएर तड्पिनुपर्ने अवस्था स्थानीय सरकारका लागि पनि लज्जाको भएको उनी बताउँछिन्।
'लक्षित वर्गका लागि छुट्याउने बजेट यो परिवारसम्म किन पुगेन?' उनी थप्छिन्, 'यस्ता बजेट तथा कार्यक्रम टाठाबाठा र हुने खानेहरुको पहुँचभन्दा बाहिर जान नसक्दासम्म समाजका यस्ता आवाजविहीनहरुले कहिल्यै पनि राज्यबाट प्रदान गरिने सेवासुविधा चाख्न पाउँदैनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।