नेपालगञ्ज- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनअघि नेपालगञ्ज रंगशालामा भेटिएका ह्यान्डबलका पूर्वराष्ट्रिय खेलाडी जयन्तकुमार शर्मा निकै उत्साहित देखिन्थे। खेलकुदमा लागेको ४० वर्षमा नाघिरहँदा उनको कर्मभूमि नेपालगञ्ज रंगशालाले नयाँ स्वरुप पाएको छ, त्यो पनि अत्याधुनिक प्याराफिट सहितको।
'२०३७-३८ सालतिर यहाँको मैदान राष्ट्रिय स्तरको पनि थिएन। जताजतै खल्टाखुल्टी। अलिअलि मर्मत गरेर खेल्थ्यौ,' शर्माले विगत सम्झिए, 'मुख्य कुरा वर्षायाममा खेल्ने स्थिति हुँदैन थियो। पानी जमेर हिलाम्मे हुन्थ्यो।'
अहिले प्याराफिटसहितको यस्तो मैदान बन्ला भनेर उनले कल्पना समेत गरेका थिएनन्। 'अहिले यो मैदान देख्दा सपना जस्तो लाग्छ। मैदानमा बर्मुडा घाँस रोप्न मात्र ३७ लाख लागेको छ। अहिले मैदानलाई लेभलिङका गरेर उत्कृष्ट बनाइएको छ,' प्रदेश ५ को राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक समेत रहेका उनी भन्छन्।
यस्तै मैदान आफ्नै पालामा भइदिएको भए राम्रो खेल्न सकिन्थ्यो कि जस्तो लाग्छ उनलाई। किनकि त्यो बेला कमसल मैदानमा खेलेर विदेशमा भाग लिन जानुपर्दा हतोत्साहित बनेको उनले अनुभव सुनाए। 'विदेशको पूर्वाधार देखेर हामी आत्तिन्थ्यौं। तर अब हामीले क्षेत्रीयस्तरमै अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सक्यौं। जुन खेलाडीका लागि पनि फाइदा हो,' उनी भन्छन्।
अत्याधुनिक प्याराफिटको रुपमा बनेको नेपालगञ्ज रंगशालाको जग २०३६ सालमा बसेको थियो। यहाँ पहिला ठूलो चौर थियो। वरिपरि जंगल। यही चौरमा स्थानीयबीच फुटबल र क्रिकेट खेल खुब जम्थ्यो।
त्यतिबेलका हस्ती बद्रीनाथ शर्मा, हनी सिद्दिकी, महेन्द्रबहादुर हमाल हस्तीले यहाँ खेल्थे। २०३६ मा राजा वीरेन्द्रले नेपालगञ्ज भ्रमण गरे। त्यही मौकामा यहाँ फुटबल मैदान नभएको विपषयमा राजासँग बिन्ती चढाइयो। त्यसपछि महेन्द्रको आदेशमा जग्गा अधिग्रहण गरेर मैदानका लागि उपलब्ध भयो। जग्गा प्राप्त भएपछि पनि ६ वर्ष चौरमै सीमित रह्यो।
'२०४२ सालमा मैदानलाई घेर्न कम्पाउन्ड बनाउने काम भयो। त्यसपछि मैदानमा थोरै सुधार गरियो। कम्पाउन्डसँगै समान्य प्याराफिट पनि बन्यो,' शर्माले नेपालगञ्ज रंगशालाको इतिहास खोतले, 'बीचबीचमा विभिन्न प्रतियोगिता हुँदा मैदान सम्याउने घाँस रोप्ने कामहरु भइरहे। त्यसपछि मैदान सुधार गर्ने कामहरु हुन सकेनन्।'
२०५५ सालमा मध्यपश्चिमाञ्चलले चौथो राष्ट्रिय खेलकुद आयोजनाको मौका पायो। मध्यपश्चिमको केन्द्र नेपालगञ्ज भएकाले प्रतियोगिताको उद्घाटन नेपालगञ्जमा हुने तय भयो। जसकारण नेपालगञ्ज रंगशालाले फेरि स्वरुप फेर्ने मौका पायो। मैदान र प्याराफिट थोरबहुत पुन: निर्माण गरियो। मैदानलाई मर्मत गरिनुका साथै प्याराफिटमा पनि सुधार ल्याइयो। त्यसपछि सामान्य मर्मत मात्र भए। राष्ट्रिय खेलकुदका लागि भनेर एथ्लेटिक्स ट्र्याक निर्माण गरियो। त्यतिबेलासम्म मैदानमा फुटबल र क्रिकेटका दुवै खेल हुने गरेका थिए। एक पटक त यही मैदानमा क्रिकेटको राष्ट्रिय प्रतियोगितासमेत आयोजना भयो। तर, २०५५ सालमा ट्र्याक बनेपछि भने यहाँ क्रिकेट खेल्न बन्द भयो।
४ बिघा र ४ कठ्ठा क्षेत्रफलमा रहेको रंगशालालाई पहिले महेन्द्र रंगशालाको नामले चिनिन्थ्यो। २०४६ सालपछि मानिसहरुले महेन्द्र रंगशालालाई नेपालगञ्ज रंगशाला भन्न थालेको शर्मा बताउँछन्।
२१ वर्षअघि चौथो राष्ट्रिय खेलकुदमा खासै लागनी नभए पनि आठौं राष्ट्रिय खेलकुदको आयोजना प्रदेश ५ मा हुँदा सबैभन्दा बढी लगानी नेपालगञ्ज रंगशालामा भएको छ। रंगशालाका लागि मात्रै २४ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ। ६ करोड रुपैयाँ मैदान र १८ करोड रुपैयाँ भिआइपी प्याराफिट निर्माणमा खर्च हुँदा मैदानले ४० वर्षपछि नयाँ स्वरुप पाएको छ। अन्तर्राष्ट्रिय मापदन्डअनुसार बनेको दाबी गरिएको नेपालगञ्ज रंगशालामा ३७ लाख रुपैयाँको मात्र बरमुडा दुबो रोपिएको छ।
अहिले निर्माण गरिएको भिआइपी प्याराफिटको अत्याधुनिक प्रविधिलाई 'ग्रान्ड स्ट्यान्ड' भनिन्छ। स्टिलबाट निर्मित प्याराफिट अहिले युरोपियन देशहरुमा लोकप्रिय छ। नेपालगञ्ज रंगशालाको यो प्याराफिटमा ३ हजार ५ सय व्यक्ति बस्न मिल्छ।
छोटो सयममा निर्माण गर्न सकिने र कम खर्च लाग्ने भएकाले यो प्रविधिलाई उत्तम मानिएको छ। बजेट निकासा गर्न ढिलाइ भएका कारण निर्माण सम्पन्न गर्न साढे ७ महिना समय लागेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। परिषद्ले 'ग्रान्ड स्यान्ड' खरिदका लागि गत साउनमा प्रक्रिया अघि बढाएको थियो।
सामान्यतया प्याराफिट फिट गर्न ३ महिना लाग्ने गरेको छ। चीनबाट ल्याइएको प्याराफिटका सामान अन्तिम समयमा आइपुगेका कारण नेपालगञ्ज रंगशाला १० दिनभित्र जडान गरिएको थियो। त्यसअघि प्याराफिट राख्नका लागि बेस निर्माण गर्ने काम भएको थियो।
अन्तिम समय जडान गरिएको यो प्रविधि नेपालमा भित्र्याइएको पहिलो पटक हो।
हाललाई प्याराफिटमा ५० भिआइपी र ५० पत्रकार बस्ने स्ट्यान्ड छ। तर निर्णायक बस्ने कोठा र वासरुम अहिले निर्माण भएको छैन। परिषद्ले आठौं राष्ट्रिय खेलकुद सकिएपछि बाँकी काम सम्पन्न गर्ने जनाएको छ। भूकम्पीय रुपमा सुरक्षित यो प्रविधि कम्तिमा ४० वर्ष टिक्ने जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।