मुम्बई– ‘ओहो, मलाई त यो दृश्यमा पसिना नै आयो, गाह्रो भयो,' रागिनी एमएमएस– २ को छायांकनका बेला एउटा दृश्यपछि सन्नी लियोनीले निर्देशकसँग भनिन्, ‘अब भयो, मलाई नै यस्तो सकस भयो अरुले कसरी यस्ता इन्टिमेट दृश्यहरू देलान्?'
हुन पनि यौनिक भंगीमाका दृश्यहरू छायांकनका बेला अभिनेत्रीहरूले असहज महसुस गर्छन्। स्वभाविक हो। पोर्न फिल्म खेलेकी सन्नीका लागि त यस्ता दृश्यहरूले असहज महसुस गराउँदो रहेछ भने अरुको के कुरा?
यस्ता सन्निकट दृश्यहरूबारे बलिउडमा अभिनेत्रीहरूका आ–आफ्नै भोगाइ र अनुभूतिहरू छन्। अमेरिकी टिभी सिरियल ‘क्वान्टीको’मा एफबिआई एजेन्ट एलेक्स प्यारिसको भूमिका निर्वाह गरेकी भारतीय अभिनेत्री प्रियंका चोपडाले यसको एउटा प्रमोशन कार्यक्रममा भनेकी थिइन्, ‘जोडीसँग दिइएको एउटा दृश्यमा मैले कठिन महसुस गरेँ।’
प्रियंका यसअघिका कतिपय फिल्महरूमा पनि उदार दृश्यहरूमा देखिएकी छन्। भन्छिन्, ‘कतिपय सन्दर्भ र मुडले पनि यौनिक छनक देखिने दृश्यहरू दिइने अवस्थाको अनुभूति सृजना हुन्छ। र, अर्को कुरा, यो कसरी खिचिन्छ भन्ने पनि हो।’
बलिउडकी अर्की अभिनेत्री ऐश्वर्या रायका हकमा भने सबैभन्दा मुस्किलको क्षण फिल्म ‘ऐ दिल है मुश्किल’को एउटा दृश्य रहेछ। यो फिल्ममा ऐश्वर्या रायले रणवीर कपुरका साथ ‘क्लोज सिन’ दिनुपर्ने थियो।
दृश्य यस्तो थियो कि जहाँ निर्देशकले खोजेका थिए, एउटा गहिरो अनुभूति जुन अनुहारमा प्रतिविम्बन होस्। यौनिक र प्रेमिल संवेगको भाव देखिनुपर्ने यो दृश्यको फ्रेमभित्र पर्दा रणवीरका हात पटक पटक काँपिरहे।
‘मलाई साँच्चै गाह्रो भयो त्यतिबेला’, अभिनेत्री रायले भनेकी छन्, ‘रणवीरलाई पनि गाह्रो भयो, मलाई पनि गाह्रो भयो। म यो दृश्य कहिल्यै भूल्न सक्दिन।’
बलिउडमा यस्ता दृश्यहरूको छायांकनका किस्साहरू पनि बेला बेला सुन्न पाइन्छ। जस्तोः मल्लिका शेरावतले अभिनेता ओम पुरीसँग दिएको चर्चित सिनको किस्सा।
भएछ के भने, बोल्ड दृश्यका लागि उदार मानिने यी नायिकाले फिल्म ‘डर्टी पोलिटिक्स’मा अभिनेता पुरीसँग एउटा क्लोज दृश्य दिनु थियो। दृश्यका लागि सेट तयार भयो। निर्देशकले परिस्थिति ‘ब्रिफिङ’ गरे।
निर्देशकको विवरण सुनिरहँदा ओम पुरीले असहज महसुस गरेका थिए तर अभिनेत्री मल्लिका भने उत्साहित थिइन्। ‘नभन्दै रिटेकसहित गरिएको सो दृश्यमा मलाई साह्रै असहज महसुस भएको थियो तर उनलाई केही भएन’, फिल्म सार्वजनिक नहुँदै ओम पुरीले भनेका छन्, ‘सबै ठाउँमा हिरोइनहरुले मात्र असहज महसुस गर्नुपर्छ भन्ने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।