एजेन्सी– बलिउडमा यतिखेर ऐश्वर्या रायको चर्चा चुलिएको छ। लामो समयदेखि फिल्मबाट टाढा रहेकी ऐश्वर्याले मणिरत्नमको नयाँ फिल्ममा अभिनय गर्ने पक्का भएपछि उनको चर्चा बढेको हो।
ऐश्वर्याको चर्चा यस कारण पनि चुलिएको छ कि, यो फिल्ममा उनी ‘बाहुबली’ का चर्चित पात्र कटप्पासँग रोमान्स गर्दैछिन्। ऐश्वर्याले नयाँ फिल्ममा कटप्पाको पत्नीको भूमिका निर्वाह गर्ने बताइएको छ।
समाचार अनुसार फिल्म बाहुबलीमा कटप्पाको भूमिका निभाउने दक्षिण भारतीय अभिनेता सत्यराज यो फिल्ममा ऐश्वर्याको पति भएर अभिनय गर्दैछन्।
कल्की कृष्णमूर्तिको उपन्यास ‘द सन अफ पोन्नी’ मा आधारित यो फिल्मको निर्देशन चर्चित निर्देशक मणिरत्नमले गर्दैछन्। फिल्मका लागि ऐश्वर्या रायले साइन गरिसकेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्।
मणिरत्नमको यो फिल्ममा ऐश्वर्याले एक राजकुमारीको भूमिका निभाउने बताइएको छ। फिल्ममा अभिताभ बच्चनले पनि अभिनय गर्ने चर्चा चले पनि अहिलेसम्म त्यसको आधारिकता पुष्टि भने भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।