काठमाडौं– सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आफूहरु अपमान सहेर पनि देशको हितमा काम गर्न तयार भएको बताएका छन्।
भ्रष्टाचार, तस्करी वा कुनै पनि प्रकारको अपराध वा राजस्व छली र सरकारी सम्पत्तिको दुरुपयोगप्रति सहनशील हुन नसक्ने भन्दै बाँस्कोटाले त्यस खालका गतिविधि नगर्न सचेत गराए।
उनले आफूहरुलाई कुनै पनि आरोप वा व्यंग्यले नछुने स्पष्ट पारे। 'व्यंग्यहरु आउँछ, जान्छ। मान्छेहरुले व्यंग्य गरिराख्छन्। तर देश र जनताको हितमा हामी सबै अपमान सहेर भए पनि सबै काम गर्नका निम्ति तत्पर छौं', मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले भने।
'प्रधानमन्त्रीजीले अनुहार हेरेर होइन भन्नुभएको छ। अनुहार हेरेपछि चिनेको पर्ला, नाता पर्ला, कुटुम्ब पर्ला, को पर्ला, कसो पर्ला', बाँस्कोटाले भने, 'तीन करोड नेपालीमा हामी सबै दाजुभाइ दिदीबहिनी हो। त्यसैले त्यसबाट प्रभावित नहुने कुरा प्रधानमन्त्रीले पटकपटक बताइसक्नुभएको छ।'
सिरहामा २८ बिघा जग्गा कब्जाको प्रसंग जोड्दै उनले पत्रकारहरुलाई त्यस्ता घटना कहाँकहाँ भएका छन्, उजागर गर्न सुझाए।
'सरकारी जग्गा हडप्ने कार्यमा जोसुकै मुछिएको भए पनि आवश्यक कारबाही हुन्छ। सरकारी सम्पत्तिको रक्षा हुन्छ। यसमा कुनै पद ओहदा वा हैसियतले छानबिन प्रक्रिया र सरकारी सम्पत्ति रक्षा गर्ने कुरालाई प्रभावित बनाउन सक्दैन', बाँस्कोटाले भने।
उनले सुन तस्करीको जालो नै ध्वस्त बनाउने अभियानमा रहेको बताए।
'३३ किलो सुनको कतिपल्ट भन्ने? एउटा ३३ किलो इन्डिया पुगेर समात्या छ। यो ३३ किलोको कुरा। ३८ क्विन्टल नै बेपत्ता भएको रहेछ नि विगतमा। यस्तो कनेक्सन नै ध्वस्त पार्ने अभियानमा हामी लागेका छौ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।