के तपाईंहरूको बच्चालाई २ साताभन्दा बढी समयदेखि ज्वरो आएको छ? बच्चाले आलश्य मान्छ? या खान मन गर्दैन? अथवा शरीर सेतो भएर गइरहेको छ भने विचार गर्नुस् बच्चालाई एक्युट ल्युकेमिया (रक्त क्यान्सर) भएको हुन सक्छ। यस्ता लक्षण देखा परेको छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।
एक्यूट ल्युकेमिया एएलएल, एएमएललगायत गरी विभिन्न प्रकारका हुन्छन्। त्यसमध्येको एक हो, एक्युट लिम्फोब्ल्यास्टिक ल्युकेमिया अर्थात् एएलएल। रगतमा हुने तीन प्रकारका रक्तकोषमध्ये सेता रक्तकोष वयस्क हुन नपाई अनियन्त्रित रुपमा शरीरभरि फैलिएपछि एएलएको लक्षण देखा पर्न थाल्छन् ।
वयस्क हुन नपाएका कमसल खालका सेता रक्तकोष हाम्रो हड्डीभित्र रहेको मासीमा फैलिएमा मासीले राम्ररी काम गर्न सक्दैन। मासीले रगतमा हुने तीन प्रकारका रक्तकोष रातो रक्तकोष, प्लेटलेट र सेतो रक्तकोष बनाउँछ। मासीले काम गर्न नसकेको अवस्थामा यी तीनै रक्तकोष बन्न पाउँदैन, जसले गर्दा रातो रक्तकोषको अभावमा शरीर सेतो भएर जान्छ र रक्तअल्पता हुन्छ । प्लेटलेटको अभावमा भने शरीरका विभिन्न भागबाट रगत बग्न थाल्छन् । छालामा राता राता छिर्का तथा निला डाम देखिन्छन्। नाकबाट रगत बग्छ भने बान्ता या दिसा–पिसाबमा रगत जान्छ । यस्तै, खकारमा रगत जाने, मष्तिष्क, फोक्सो, मिर्गौलालगायतका भित्री अंगमा पनि रगत बग्छ।
वयस्क सेतो रक्तकोषको अभावमा रोगसँग लड्ने क्षमता कम हुन्छ र रुघाखोकी, झाडापखाला, टाईफाइड, कमलपित्त, मेनिन्जाइटिस, कान, घाँटी, आन्द्रा तथा पिसाबको संक्रमण हुन्छ।
कमसल खालका सेता रक्तकोष शरीरका ग्रन्थी (लिन्फनोड) मा फैलिए घाँटी, छाती तथा कलेजो फियो सुन्निन्छ भने मष्तिष्कमा फैलिए टाउको दुख्ने, बेहोस हुने, काम्ने, शरीरका विभिन्न भाग नचल्ने हुन सक्छ । हड्डीमा फैलिए हाड तथा जोर्नीहरू दुख्ने हुन्छ । यस्तै, फोक्सोमा फैलिए खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, निमोनियाका लक्षण देखा पर्ने तथा कलेजोमा फैलिए जन्डिसका लक्षण देखा पर्छन्। मृगौलामा फैलिए मिर्गौला तथा पिसाबमा खराबी देखिन थादछ।
रोगका लक्षण :
२ साता या त्यसभन्दा बढी समयदेखि ज्वरो आउनु, आलस्य हुनु, खान मन नलाग्नु।
पटक– पटक छोटो समयको अन्तरालमा रुघाखोकी, निमोनिया, झाडापखाला तथा अन्य संक्रमण भइरहनु।
शरीर सेतो भएर जानु वा रक्तअल्पता हुनु।
शरीरका विभिन्न भागमा राता टीका तथा नीला दाग आउनु।
नाक, खकार, दिसा–पिसाबमा रगत आउनु।
आँखा, मुख या घाँटी सुन्निनु।
सास फेर्न गाह्रो हुनु, सास फुल्नु।
हाड जोर्नी दुख्नु।
हातखुट्टा लर्बराउनु, कमजोर हुनु वा नचल्नु।
यस्ता लक्षण देखिए तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ।
एएलएलको उपचार कसरी गरिन्छ ?
एएलएलको उपाचार केमोथेरापी वा कहिलेकाही रेडियोथेरापीबाट गरिन्छ । विशेष खालका एएलएलमा मासी फेर्नुपर्ने हुन सक्छ, जसलाई बोनम्यारो ट्रान्सप्लान्टेशन भनिन्छ। तर चिन्ता लिननपर्ने कुरा के हो भने धेरैजसो एक्युट लिम्फोप्लास्टिक ल्यूकोमिया (एएलएल) बालबालिकामा निको हुन्छ । केमोथेरापी भनेको औषधि वा विभिन्न रासायनिक पदार्थहरू मुख, नसा, ढाड या अन्य माध्यमबाट शरीरमा दिइ उपचार गर्ने प्रक्रिया हो। यस्तो केमोथेरापी ५ देखि ७ अध्यायमा दिइन्छ । बालिकाहरूमा १०४ हप्ता र बालकलाई १६५ हप्तासम्म उपचार गर्नुपर्ने हुन्छ । एएलएलको उपचार अटुट रुपमा बाल क्यान्सर विशेषज्ञको निगरानीमा गर्नुपर्छ । ‘सपोर्टिभ केयर केमोथेरापी’ एएलएलको उपचारको मेरुदण्ड हो । तर केमाोथेरापी दिँदा विभिन्न समस्या भने उत्पन्न हुनसक्छ।
संक्रमण
उपचारका क्रममा केमोथेरापी दिँदा बालकको प्रतिरोधात्मक शक्ति कम हुन गई वा बालबालिका कमजोर भई विभिन्न प्रकारका संक्रमण हुन सक्छन्। केमोथेरापीले गर्दा वा सरसफाईको कमीले वा बालबालिकाले पोषिलो स्वच्छ–सफा नखाइदिँदा निमोनिया झाडापखाला, सेप्सिस मेनिडाइटिस, जन्डीस, पिसाब तथा आन्द्राको संक्रमण, मलेरिया तथा क्षयरोग लाग्न सक्छ । यी रोगहरू किटाणु, जीवाणु, झ्याउ, परजीवी आदिले गराउन सक्छन्। सरसफाईमा ध्यान दिनुका साथै स्वच्छ, पौष्टिक खानेकुरा खानु र विभिन्न प्रकारका एन्टिवायोटिक र अन्य औषधि दिनुपर्ने हुन्छ।
रक्तअल्पता तथा रक्तश्राव
उपचारका क्रममा बालबालिकामा रक्तअल्पता हुनुका साथै विभिन्न ठाउँबाट रक्तश्राव हुन सक्छ । यस्तै, रगत जम्ने प्रक्रियाहरू बिग्रन सक्छ । यस्तो अवस्थामा बालबालिकालाई रगत वा रगतका भागहरू (होलब्लड) प्लेटलेट प्याक्डसेल फ्रशफ्रेजन प्लाज्मा आदि पटक पटक दिनुपर्ने हुन्छ।
कुपोषण तथा पोषण
अस्पताल आउँदा नै ब्लड क्यान्सर भएका धेरै बालबालिका कुपोषित भइसकेका पाइन्छन् । त्यसमाथि रोग अथवा औषधोपचारका क्रममा बालबालिकाहरू कुपोषित हुन्छन्। त्यसमाथि बालबालिकालाई वाकवाक लाग्ने, बान्ता हुने तथा खान मन नलाग्ने हुँदा उनीहरू झन् कुपोषित हुन्छन् । यसले गर्दा विभिन्न संक्रमण बढेर विभिन्न प्रकारका रोग लाग्न सक्छन् र झन् कुपोषित हुन सक्छन् । त्यसकारण ब्लड क्यान्सर भएको अवस्थामा बालबालिकाहरूले सफा, स्वच्छ, पोषिलो खानेकुरा खानुपर्छ। मुखले आफैँ खान नसके वा नखाएमा बेजोग्यास्टिक ट्यूब हालेर भए पनि कुपोषित हुनबाट जोगाउनुपर्छ ताकि उनीहरूले केमोथेरापी राम्ररी धान्न सकुन् र विभिन्न रोगबाट बच्न सकुन् ।
आइमिलाइन/सिमिलाइन ब्लड क्यान्सरमा दिइने धेरै केमोथेरापीका औषधि नसाबाट दिइन्छ । ठीक नसा नपरेमा केमोथेरापीका औषधि नसाबाट बाहिर निस्कन सक्छ र रोग निको हुन गाह्रो हुन्छ, घाउ पनि हुनसक्छ। बालबालिकाका नसा पाउन गाह्रो हुन्छ, जसले गर्दा कहिलेकाँही उनीहरूलाई पटक–पटक घोच्नुपर्ने हुन्छ । उपयुक्त प्रविधि भने महंगो भए पनि केन्द्रीय धमनीहरुमा लाइन-सेन्ट्रल भेनस लाइन हाल्न सकेमा महिनौं वा वर्षौंसम्म उनीहरूलाई केमोथेरापी दिन वा आकस्मिक रुपमा औषधिहरू रगत वा सिधै विशेषखालका खाद्यपदार्थ सिमिलाइनमार्फत् दिन सजिलो हुन्छ।
त्यसैले बाबुआमा, अभिभावक, नर्स, असपतालका अन्य कर्मचारी, डाक्टरलगायत सबैको आवश्यक सहयोग पुगेमा बालबालिकाको ब्लड क्यान्सर धेरैजसो निको हुन्छ । तर यसमा सबैले आ–आफ्ना क्षेत्रबाट मिहिनेत गर्नैपर्छ।
( लेखक बाल क्यान्सर तथा रक्तरोगका वरिष्ठ कन्सल्टेन्ट हुन्। )
तस्बिरः मिलाप डट ओआरजीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।