नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुषमा आर्मी र महिलामा प्रहरी च्याम्पियन बनेका छन्। दुवै फाइनलमा प्रदेश ३ चुक्यो।
दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित गर्यो। आर्मीका रामकृष्ण घतानेले २३ अंक जोडे। प्रहरीले प्रदेश ४ ७४–५४ ले हराउदै तेश्रो भयो। प्रहरीका विकास गुरुङले १४ अंक जोडे।
महिलाको उपाधि भिडन्तमा प्रहरीले प्रदेश ३ लाई ४५–२९ ले पाखा लगायो। प्रहरीकी अनुषा मल्लले १३ स्कोर गरिन्। आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५१–३९ ले पन्छायो। विजयी टिमका लागि ग्रीष्मा सिलवालले ११ अंक जोडिन् । पुरुषमा १० र महिलामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।
गल्फ : टंक र प्रतिभालाई स्वर्ण
आठौंअन्तर्गत राष्ट्रिय गोल्फमा टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन् ।
गोकर्ण गोल्फ क्लबमा भएको प्रतियोगिताको पुरुषमा शुक्रबहादुर राई दोश्रो तथा निरज तामाङ तेश्रो भए । महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते । शीर्ष तीन स्थान हात पार्ने पुरुष खेलाडी प्रदेश १ तथा महिला खेलाडी प्रदेश ३ का हुन् ।
पुरुष टिममा प्रदेश १ (शुक्र, बविन्द्र राई, निरज) पहिलो, आर्मी (निश्चयजंग रायमाझी, सुवास तामाङ, राहुल विक) दोश्रो तथा गण्डकी प्रदेश (मदन गुरुङ, लक्ष्मीप्रसाद गुरुङ, महेन्द्र थगामी) तेश्रो भए । तीनदिने प्रतियोगितामा ६ महिलासहित ३४ खेलाडी सहभागी थिए । तीन स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
कबड्डी : आर्मीलाई दोहोरो उपाधि
आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुष÷महिला दुवैको उपाधि आर्मीले जितेको छ । सातौं राष्ट्रिय खेलकुदमा पनि पुरुष÷महिला दुवैमा च्याम्पियन बनेको थियो ।
बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित ग¥यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो । चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष÷महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।
बुद्धिचाल : पुरुषोत्तम पहिलो
आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा प्रहरीका पुरुषोत्तम चौलागाईं पहिलो भएका छन् । प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए । नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा शीर्ष तीन स्थान छुट्टाइएको हो । मनीषले पुरुषोत्तम र सचिन दुवैसंग बराबरी खेलेका थिए भने सचिन पुरुषोत्तमसंग पराजित भएका थिए ।
बर्दियाको ठाकुरद्वारामा भएको प्रतियोगिताको महिलामा आर्मीकी सिन्दिरा जोशी दोश्रो तथा प्रदेश १ की कृपा अधिकारी तेश्रो भए । नवौं चरणको खेलमा सिन्दिराले ७ तथा कृपाले ६.५ अंक जोडे । आर्मीकी सुजना लोहनीले यसअघि मंगलबार नै एक खेल अगावै स्वर्ण पक्का गरिसकेकी थिइन् । बुधबार नवौं चरणमा पनि जित हात पार्दै सुजनाले शत प्रतिशत जित निकालिन् । ९ अंक जोड्ने क्रममा सुजनाले अन्तिम खेलमा गण्डकीकी पूजा भण्डारीलाई पन्छाइन् । चैत २९ देखि सुरु प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।