काठमाडौं- आफूसँग सामान्य लेखपढ गर्न सक्नेसम्मको पढाइ थिएन। पढाइ नहुँदा देशमा भनेजस्तो काम र कमाइ नभएपछि मकवानपुर कुलेखानी-५ का छिरिङ तितुङले विदेश जाने सोच बनाए।
उनीसँगै गाँउकै साथीहरु कुमार घागा मगर, बाबुकाजी घागा मगर र विमानसिंह थिङ पनि काठमाडौं आए।
विदेश जाने सपना देखिसकेका उनीहरु लागे म्यानपावर कम्पनीको खोजीमा। यसै क्रममा उनीहरु पुगे, महाराजगन्ज चक्रपथस्थित रिलायन्स रिक्रुइमेन्ट सर्भिस प्रालि (लाइसेन्स नम्बर ९७१०६७०६८)। उक्त म्यानपावरका एजेन्टले साउदीको राम्रो कम्पनीका लागि कामदार मागेको सुनाए।
क्लिनर काममा मासिक ८ सय रियाल तलब र खानेबस्ने सेवासुविधा लगायत आकर्षक प्रलोभन देखाइयो। उनीहरुसँगै सिन्धुपाल्चोक सुनखानी गाविसका क्षेत्रध्वज खत्री पनि साउदी रोजगारीका लागि जान तयार भए।
नेपालमा भनेजस्तो काम नपाएका कारण परदेशमा सजिलो क्लिनर काम र कमाइ पनि राम्रो भएकाले सबै फुरुंग भए। उनीहरुले म्यानपावर कम्पनीले मागेको प्रतिव्यक्ति ६० हजारभन्दा बढी रकम बुझाए।
सबै डकुमेन्टहरु मिलाएर उनीहरु क्लिनर कामका लागि सन् १० मार्च २०१६ मा साउदीका लागि उडे।
जब उनीहरु साउदी पुगे। समझदारी भन्दा निकै कठिन काम लगाइयो।
OOO
छिरिङ लगायत पाँचै जनालाई म्यानपावर कम्पनीले क्लिनर कामका लागि भन्दै समझदारी गरेर पठाएको थियो। सम्झौतापत्रमा मासिक ८ सय रियाल तलब उल्लेख गरिएको थियो। दैनिक ८ घन्टा, हप्तामा ६ दिन काम। खाने बस्ने कम्पनीले व्यवस्था गर्ने। आउनेजाने निःशुल्क हवाई सेवा लगायत सुविधा उल्लेख गरिएको थियो।
उनीहरुलाई त्यहाँ निर्माण सम्बन्धी कठिन काममा लगाइयो। दैनिक १२ घन्टाभन्दा बढी काम गर्न बाध्य पारियो। तर तलब दिइएन। खान बस्नसमेत आफ्नै रकमबाट खर्च गर्नुपर्ने भयो।
थोमन अल्फा एडिसनले भनेझैं ‘कठिन परिश्रमको कुनै विकल्प हुँदैन।’ परदेशमा काम गरेर परिवारमा खुसी ल्याउने सपना बोकेर गइसकेकाले उनीहरु पनि जस्तोसुकै कठिन काम गर्न समेत तयार भए।
मकवानपुरका छिरिङ तितुङ भन्छन्, ‘काम त जस्तो लगाए पनि गरियो तर तलब पाइएन, अर्काको मुलुक खाडीमा पुगेर पनि बिना पैसा कतिदिन काम गर्नु, भोकै काम गर्न कति सकिन्छ र?’
कम्पनीमा खान, बस्न कुनै टुंगो नभई काम मात्रै गर्नुपरेपछि उनीहरुले म्यानपावर कम्पनीमा आफूहरु समस्यामा परेका कुरा सुनाए। आफूहरु अलपत्र परेपछि म्यानपावरमा समस्यामा परेको खबर सुनाउँदा समेत बेवास्ता गरेको साउदीबाट फर्किएका सिन्धुपाल्चोकका क्षेत्रध्वज खत्रीले बताए।
‘भनेजस्तो काम थिएन, त्यही काम पनि झन्डै ३ वर्षसम्म गरियो तलब पाइएन,' उनी भन्छन्, 'पैसा नभएपछि तत्काल नेपाल आउने मौका पनि पाइएन।’
काम गरेको महिनौंपछि एकपटक कम्पनीले १२ सय रियाल दिएको अर्का पीडित छिरिङले बताए। 'साथीहरुले मोबाइल किनेछन्। पछि खान पनि समस्या भयो। मैले त धन्न खर्च नगरी राखेको थिएँ, त्यही पैसाले खान भयो,’ उनले सुनाए।
पैसासँग श्रम साट्न गएका उनीहरु समस्यामा मात्रै परेनन्। साउदीको जेलमा समेत परे।
कम्पनीले आप्रवासी कामदारले पाउने परिचयपत्र (अकामा) समेत नवीकरण नगरिदिएपछि उनीहरु अवैधानिक रुपमा काम गर्न बाध्य थिए। साउदीमा अकामा नभएका आप्रवासी कामदारहरु स्वतः अवैध ठहरिन्छन्। यसकारण उनीहरु पाँचैजना जेल परे।
दुई पटक गरेर उनीहरु झन्डै २ महिना जेल बस्न बाध्य भए।
सम्बन्धित निकायको बेवास्ताले थप पीडा
आफैंले रोजगारीका लागि विदेश पठाएका श्रमिकहरु समस्यामा पर्दा म्यानपावर कम्पनीले उद्धारका लागि कुनै चासो नदेखाउने गरेका धेरै गुनासाहरु पीडितहरुबाट आउने गरेका छन्। नेपालबाट विदेश पठाएपछि आफ्नो जिम्मेवारी सकिएको जस्तो गर्ने म्यानपावर कम्पनीको व्यवहारबाट उनीहरु पनि थप पीडामा परे।
उनीहरुलाई कम्पनीले अकामा नवीकरण नगरिदिएको र जुनसुकै बेला पनि अवैध ठहरिएर आफूहरु जेल पर्ने भन्दै म्यानपावर कम्पनीमा जानकारी गराएका थिए। तर बेवास्ता गरेको उनीहरु बताउँछन्।
एक पीडितले आफूले म्यानपावरकी कर्मचारी लिली खनालसँग फोनमा गरेको कुरा रेकर्ड गरेका रहेछन्। त्यो रेकर्डमा उनले आफै कम्पनीमा कुरा गरेर अकामा नवीकरण गर्न र तलब माग्न भनेकी छन्। ‘हामीले जति अनुरोध गरे पनि कम्पनीले हाम्रो कुरा नै सुनेन, म्यानपावर पनि आफै कुरा गर्नु भनेर जिम्मेवारीबाट पन्छियो,’ एक पीडितले भने।
समस्यामा परेपछि उनीहरुले दूतावासमा समेत फोन गरेका थिए। तर समस्या सुन्ने कोही भएन। क्षेत्रध्वज खत्रीले भने, ‘हाम्रो कुरा परदेशमा कसैले सुनेन, हामी एक्लै भयौँ। दूतावासले न फोन उठाउँछ न गुनासा सुन्छ।’
एक लाखसम्म असुलेर १० हजारको प्रमाण
खाडी लगायतका मुलुकमा कामदार पठाएर एक लाखभन्दा बढी रकम असुल्ने र १० हजारको प्रमाण मात्रै दिने म्यानपावर कम्पनीहरुको प्रवृत्ति नै बनेको छ। रिलायन्स म्यानपावर कम्पनीले पनि छिरिङ लगायत पाँचै जनाबाट प्रतिव्यक्ति ६० हजारदेखि एक लाखसम्म रकम असुल गरेर १० हजारको मात्रै नगदी रसिद उपलब्ध गराएको छ।
खत्रीले म्यानपावर कम्पनीलाई ६० हजार रकम बुझाएका थिए। रसिद देखाउँदै उनी भन्छन्, ‘जताततैबाट ठग्ने रैछन्। अहिले हामीलाई क्षतिपूर्ति पनि १० हजार मात्रै दिन्छु भन्छन्।’
रित्तै धन्न फर्कियौं : पीडित
साउदीले जेलमा रहेका श्रमिकहरुलाई नयाँ वर्ष सन् २०१९ को अवसर पारेर आममाफी दिएको थियो। त्यही मौकामा घरफिर्ती केन्द्र आएका उनीहरु साउदीस्थित नेपाली दूतावासको समन्वयमा २०७५ माघ २९ गते नेपाल फर्किएका हुन्।
‘रित्तै भए पनि धन्न ज्यान जोगाएर फर्किन पाइयो,' खत्री भन्छन्, 'बहिनीको सुन धितो राखेर १० हजार ऋण मागेर काठमाडौं बसेको छु। कमाउन गएको ऋणको भारी बोकेर आएँ। घर पनि कुन मुख लिएर जानु।'
के भन्छ विभाग?
वैदेशिक रोजगार विभाग बुद्धनगरमा पीडितहरुले चैत ४ गते म्यानपावर कम्पनीविरुद्ध उजुरी हालेका छन्। आफूहरुलाई एउटा काम भनेर अर्कै काममा पुर्याएको र भनेजस्तो सेवासुविधा तथा तलब नपाएको भन्दै ठगी मुद्दा उनीहरुले दर्ता गराएका हुन्।
राम्रो काम र कमाईको प्रलोभन देखाएर आफूहरुलाई समस्यामा पार्ने रिलायन्स म्यानपावरलाई कारबाही गरी आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुको छ।
म्यानपावर र पीडितहरुलाई सँगै राखेर छलफल गराई पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन विभागले सक्दो पहल गर्ने विभागका निर्देशक भोलानाथ गुरागाई बताउँछन्। ‘यस्ता प्रकृतिका घटनाहरु दिनानुदिन बढिरहेका छन्, ठगीबाट बच्न युवाहरु पनि सचेत हुनुपर्छ’ निर्देशक गुरागाईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।