जनकपुर- संघीय सरकारको नेतृत्व गरेको नेकपाले प्रदेश २ को प्रदेशसभा बैठकमा अवरोध गरेको छ। लामो समयपछि बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेकपासहित कांग्रेसको अवरोधका कारण स्थगित भएको छ। नेकपा र कांग्रेसका प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले बजेट अधिवेशनका बेला गरेको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेका हुन्।
उनीहरूले जनता आवास कार्यक्रम कार्यान्वयन र बिपी उद्यान मुद्दाको सम्बोधन नभएको भन्दै बैठक अवरोध गरेको बताए। बैठक सुरू हुने बित्तिकै नेकपाका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र विश्वकर्माले सरकारले सहमति अनुसार समानुपातिक समावेशी सिद्धान्तका आधारमा बजेट विनियोजन नगरी मनपर्दी गरेको आरोप लगाएका थिए।
जनता आवास कार्यक्रममा प्रदेश सरकारले संघीय कार्यविधिअनुसार निर्वाचन क्षेत्रअनुसार सम्बन्धित प्रदेशसभा सदस्यको संयोजकत्वमा नगरी सरकारले आफ्ना पार्टीका सदस्यलाई मनमानी गर्दै समिति गठन गरेको आरोप लगाए।
त्यसैगरी कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले प्रदेश सरकारले सहमतिअनुसार बजेट विनियोजन नगरी मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्र र नातागोतालाई मात्र विनियोजन गरेको आरोप लगाए।
उनले सरकारले बिपी उद्यानसहित प्रतिपक्षी दलले उठाएका मुद्दा सम्बोधन नभएसम्म बैठक चल्न नदिने भनेपछि सभामुखको जिम्मेवारी निर्वाह गरेकी उपसभामुख उपमा देवले आधा घन्टाका लागि बैठक स्थगित गरेकी थिइन्।
तर, स्थगित अवधिमा पनि सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति बन्न नसकेपछि अन्ततः सभामुख देवले सुचना टासेर बैठक स्थगनको घोषणा गरेकी थिइन्।
अर्को बैठक वैशाख ११ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।