काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। २०७६ सालभरि तीन चरणमा जागरण अभियान हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
'राष्ट्रिय जागरण अभियानको क्रममा सबै जिल्ला, क्षेत्र, गाउँ नगर, वडा र टोलसम्म हाम्रो राष्ट्रिय अभियान विस्तारित हुने छ', मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले भने। अभियानको नाम 'हिमाल पहाड तराई मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान' राखिएको शर्माले बताए।
शर्माले अभियानका १४ वटा उद्देश्यबारे पनि जानकारी गराए।
यस्ता छन् उद्देश्यहरुः
१. नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्न।
२. राष्ट्रव्यापी रुपमा पार्टी पंक्तिमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न। पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न।
३. नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धी एवं समृद्धिको दिशामा गरिएको काम, नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषित गर्न।
४. वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सबिस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रष्ट्याउन।
५. नेपाली समाजमा रहेका अनेक फरक मत संविधान वा राज्य प्रणाली बारेकै विमति समेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस विभिन्न स्तरमा अघि बढाउन।
६. जनता मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट तुल्याउन जनसंवादमार्फत जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई समर्पित गराउन।
७. तराई मधेस लगायत मुलुकको कतिपय भूभागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र, विगतमा नेपाली कांग्रेसको सरकारले अगाडि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने कुरालाई आम नागरिका बीचमा प्रष्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न।
८. कम्युनिस्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकारात्मक व्यवहार र उब्जिएको प्रतिकूल परिणाम, बौद्धिक समुदायप्रतिको अबौद्धिक टिप्पणीहरु र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षित बेथिति आदि सन्दर्भले मुलुकको छविलाई परिरहेको असरबारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तर्क्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन।
९. तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाब बढाउन।
१०. नेपाली समाजमा केही समययता भइरहेका निर्मला पन्त प्रकरणझैं महिला हिंसाका अनेक घटना र प्रवृत्ति विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न र गराउन।
११. भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनर्स्थापना अभियानमा सघाउन र यस्तो सम्भावित विपद् सामना गर्ने सतर्कताका साथ काम गर्ने स्वयंसेवी समूह निर्माण गर्न।
१२. स्वेदशसँगै विदेशमा रहेका ५० लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको संवर्द्धन र समृद्धिमा सहभागिताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रबन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन।
१३. वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथिति अन्त्यका लागि दबाब बढाउँदै श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन।
१४. कम्युनिस्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेकौं प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसँग सहकार्य गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।