काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा समग्र पुनर्निर्माण कार्यको अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्याउँदै कार्यकारी समिति सदस्यहरु डा चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, डा हरिराम पराजुली र डा विष्णुबहादुर भण्डारीलाई पुनर्निर्माणसँग सम्बन्धित कार्यहरु हेर्ने जिम्मा दिएका हुन्।
पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ भने शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाडौं, कास्की, लमजुङ, तनहुँ, र स्याङ्जा कार्यक्षेत्र तोकिएको छ।
यस्तै, अर्का कार्यकारी सदस्य भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङ तथा श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी हेर्ने जिम्मेवारी दिइएको छ।
कार्यकारी सदस्यहरुलाई तोकिएका जिल्लाहरुमा हुने र भइरहेका निजी आवास निर्माण, बस्ती स्थानान्तरण, सम्पदा पुनर्निर्माण, पूर्वाधार निर्माण, जीविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पादन, सीप विकास लगायत कामहरुको कार्यान्वयन तथा निरन्तर अनुगमन तथा सहजीकरण गरी प्रतिवेदन बुझाउन भनिएको छ।
यो कार्यले पुनर्निर्माणको गतिलाई थप तीव्रता दिने सिइओ भुषालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।