गुम्दा (गोरखा) : 'छोरो समाज परिवर्तन र देशको विकास समृद्धिका लागि भन्दै जनयुद्धमा होमियो। तर उसको सपना पूरा भएन। न त विकास भयो न समाज परिवर्तन नै,' सहिद सन्तबहादुर गुरुङकी आमा छलमायाले आँखाभरि आँसु पार्दै भनिरहेकी थिइन्।
उनी भक्कानिइरहँदा माओवादी केन्द्रका उम्मेदवार हरिराज अधिकारी एकछिन मौन रहे।
अधिकारी घरदैलो कार्यक्रमका लागि धार्चे गाउँपालिका-५ गुम्दा पुग्दा छलमाया खाना पकाउँदै थिइन्। अधिकारीले सन्चो बिसन्चो सोध्दै कुरा सुरु गरे। छलमाया भक्कानिन छोडिनन्, 'हिजो मेरो छोरो जनयुद्धमा गयो। विकास र समृद्धि आउँछ आमा भन्थ्यो। तर खोइ कहिले आउँछ बाबु?'
चितवन जलवीरेमा सन्तबहादुरलाई तत्कालीन शाही नेपाली सेनाको टोलीले गोली हानी हत्या गरेको थियो।
वाम गठबन्धनका साझा उम्मेदवार तथा गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार अधिकारीले भने सहिदका सपना पूरा गर्न नै आफू चुनावमा उठेको बताए। एमाले र माओवादी मिल्नु नै सहिदको सपना साकार पार्न र विकास ल्याउन रहेको उनले आश्वासन दिन भ्याए।
अर्की सहिदआमा चित्रमाया गुरुङले पनि विकासप्रेमी नेतालाई मात्रै भोट दिने बताइन्। उनका छोरा बीसबहादुरलाई तत्कालीन सरकारी सेनाले लमजुङको देउरालीमा गोली हानी हत्या गरेको थियो।
गुम्दाका अरु सहिद परिवारले पनि आश्वासनले दिक्क लागेको भन्दै विकासप्रेमी उम्मेदवार र पार्टीलाई मत दिने बताएका छन्।
गुम्दा माओवादीको आधार इलाका मानिन्छ। यहाँ जनयुद्धको समयमा ४/५ सय जनमुक्ति सेनालाई तालिम दिने गरिएको र टावर राखिएको गुम्दाका ७८ वर्षीय ननबहादुर गुरूङले बताए।
अधिकारीले २०५१ को निर्वाचनमा चीनकाजी श्रेष्ठलाई पराजित गरेका थिए। २०५६ मा यस क्षेत्रबाट कांग्रेसका हरिलाल जोशी विजयी भए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अमुर तमु र २०७० मा माओवादीकै छमबहादुर गुरूङ निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।