काठमाडौँ- चीन सरकारले अघि सारेको ‘एक क्षेत्र : एक मार्ग’ अवधारणाले यसमा संलग्न नेपालसहितका राष्ट्रलाई फाइदा पुग्ने सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन्।
नेपाल–चीन मैत्री मञ्चले आज आयोजना गरेको ‘मार्ग र क्षेत्र प्रयासको संरचना’ विषयक कार्यशालाका सहभागीले एक क्षेत्र र एक मार्गबाट भौतिक पूर्वाधारको क्षेत्रमा सबैलाई लाभ हुनेमा जोड दिएका हुन्।
नेपालका लागि चीनका राजदूत यु होङले चीन नेपाल स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन यसै वर्ष पूरा हुनेमा आफू विश्वस्त रहेको बताउँदै चीन र नेपालबीच आर्थिक तथा व्यापारिक सम्पर्क विस्तारका साथै सांस्कृतिक आदानप्रदान अभिवृद्धि भएको बताए।
गत वर्षको तुलनामा यस वर्ष ६० प्रतिशत पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै उनले नेपालको सामाजिक आर्थिक विकास चीनको प्राथमिकतामा रहेको बताए।
पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल संक्रमणकालको अन्त्यमा रहेको बताउँदै आगामी महिना हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे।
अर्थसचिव शंकरप्रसाद अधिकारीले एक क्षेत्र एक मार्गमा आबद्ध राष्ट्रबीच मैत्री र सहयोगलाई प्रगाढ तुल्याउँदै भौतिक पूर्वाधार निर्माण तथा समृद्धि प्राप्तिमा जोड दिए।
कार्यशालामा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य माल्दिभ्स र श्रीलंकाबाहेक सबै सदस्य देशका अर्थशास्त्रीको सहभागिता थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।