भैरहवा- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै भैरहवामा प्रर्दशन गरेको छ। राजपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको आह्वानमा भैरहवामा प्रदर्शन गरिएको हो।
केन्द्रीय कार्यसमितिको निर्णय अनुसार रुपन्देहीमा प्रदर्शन गरिएको राजपा रुपन्देहीका संयोजक अजय वर्माले बताए। जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधनको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको राजपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लामले बताए।
प्रदर्शनकारीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, रेशम चौधरी लगायत आन्दोलनकारीलाई तत्काल रिहा गर, आन्दोलनकारी माथिको मुद्दा फिर्ता गर, भ्रष्टाचारी, कालोबजारी, महँगी, अन्त्य गर, राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर, सुलभ तरिकाले नागरिकता वितरण गर जस्ता नारा लगाएका थिए।
कोणसभामा बोल्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरु विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशीघ्र नागरिकता वितरण कार्य सुरु गर्नुपर्ने बताइन्। उनले सरकारले मधेसी जनतालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिएको बताइन्।
पार्टी रुपन्देहीका संयोजक अजय बर्माले मधेसी जनतालाई नागरिकताबाट वञ्चित गराइए राजपा थप कडा संघर्षमा उत्रिने बताए।
राजपा रुपन्देही अध्यक्ष मण्डलका सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले मधेसविरोधी शक्तिलाई विरोधीलाई जनताले परास्त गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।