परासी- वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ।
केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहेका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उनकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने उनका ज्वाइँ शेरबहादुर आचार्यले बताए। उनकाे शव दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्रिवेणीघाटमा दाहसंस्कार गरिनेछ।
बुढाथोकीका २ श्रीमती, ६ छोरी र ४ छोरा छन्।
नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पितासमेत हुन्। नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।