काठमाडौं– लेनदेन विवादमा एक महिलालाई बन्धक बनाउने भारतीय व्यापारी रविन्दर सिंह पक्राउ परेका छन्।
शुक्रबार उनले ३७ वर्षीया निमा प्रधान डंगोललाई चार घन्टासम्म उनकै डेरामा बन्धक बनाएका थिए। निमालाई डेराभित्रै चाला लगाएर सिंहले उनका श्रीमानलाई कुटपिट गरेका थिए।
पटकपटक चेतावनी दिँदा पनि महिलालाई नछाडेपछि महानगरीय प्रहरी प्रभाग पुल्चोकले प्रहरीले महिलाको उद्धार गरी सिंहलाई पक्राउ गरेको हो।
पुल्चोकमा पञ्जावी रेस्टुरेन्ट चलाउने सिंहको निमासँग रेस्टुरेन्टकै विषयमा लेनदेन थियो। पैसा नदिएको भन्दै महिलालाई उनले घरभित्रै थुनिदिएका थिए। दुवै जना एउटै घरमा बस्दै आएका थिए।
महिलाले जाहेरी दिएमा सिंहविरुद्ध अपहरण मुद्दामा कारबाही हुने महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए। आफ्नो धेरैतिर पहुँच भएकाले कसैले केही गर्न नसक्ने भन्दै प्रहरीले बारम्बार आग्रह गर्दा पनि उनले महिलालाई रिहा नगरेको प्रहरीले जनाएको छ।
सिंह भारतीय दूतावास निकट व्यक्ति भएको स्थानीयहरु बताउँछन् । नेपालमा होटल र विभिन्न व्यवसायमा उनी आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।