काठमाडौं– कर्मचारीलाई घुस खुवाएर वंशजको आधारमा नेपाली नागरिकता लिने चिनियाँ नागरिक जेल चलान भएका छन्। नागरिकता दिलाउने काठमाडौं महानगरपालिकाका वडा सचिव भने धरौटीमा छुटेका छन्।
तेन्जिङ लामाको नाममा नेपाली नागरिकता र पासपोर्ट बनाउने चिनियाँ नागरिक कुङगा तेन्जिङ भुटियालाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
पक्राउ परेका काठमाडौं महानगरपालिका–११ का सचिव रामप्रसाद पौडेल ७४ हजार धरौटीमा छुटेका छन्। उनले वडा नम्बर ६ मा कार्यरत रहेका बेला नागरिकता बनाउन सिफारिस गरेका थिए।
कुङगालाई नागरिकता बनाउन सहयोग गर्ने नयाँबजारका कर्मा धिन्डुप घले ७२ हजार धरौटीमा छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई तीन साताअघि पक्राउ गरेको थियो।
नेपाली नागरिकता लिने चिनियाँ कपडाको व्यापारमा आबद्ध व्यक्ति हुन्। माकलबारीमा घर भएका उनले पाँच लाख रुपैयाँमा आफूले नेपाली नागरिकता बनाएको बताएका छन्। नेपाली भनेर जन्मदर्ता गराउने तत्कालीन वडा सचिव तथा हाल महानगरपालिकाको वातावरण विभागमा कार्यरत युवराज खनाल फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।