रोल्पा- रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्ना छोरीसहित दुई नातिनीको गएराति हत्या गरेका छन्।
२५ वर्षीया छोरी पेवावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको बञ्चरो प्रहार गरी उनले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। छोरी पेवावती बिरामी बाबुलाई भेट्न तीन दिनअधि माइत आइकी थिइन्।
मानसिक सन्तुलन गुमाएका लीलबहादुर केही दिनदेखि बिरामी परेका थिए। बुबा बिरामी भएको खबर थाहा पाएपछि पेवावती छोरी बोकेर माइत आएकी थिइन्।
जेठी छोरीलाई पिठ्यूँमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको बेलामा एक्कासि उनले बञ्चरो प्रहार गरेर हत्या गरेका हुन्। उनकी पत्नी तीर्था र छोरा भने भागेर बाच्न सफल भएका छन्।
हत्या गरिएको छोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।