काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गरेकी छन्।
स्व नेता गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज आयोजना गरेको समारोहमा उनलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो।
शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्याउनुभएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लागि डा यादवलाई अभिनन्दन गरिएको हो।
समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतासँग अपिल गरिन्।
संविधानले निर्दिष्ट गरेका विभिन्न तहका निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबाट देखाइएको कटिबद्धताको सराहना गर्दै उनले स्वस्थ प्रतिस्पर्धाका लागि दलहरुमा देखिएको अग्रसरताप्रति खुसी व्यक्त गरिन्।
पूर्व राष्ट्रपति डा यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।