काठमाडौं- ‘कतिन्जेल खाने धुलो र धुवाँ!’
‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौ?’
सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन्। स्थानीय पीडितका नाममा झुन्ड्याइएका ब्यानरमुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोरदोहोर गर्छन्।
करिब सात किलोमिटर पनि नभएको सो दुरी पार गर्न घन्टौं खर्चिनुपर्छ। लामो जामको कष्ट बेहोर्नु नपरेको दैनिकी रहन्न सो सडकमा। राजधानी प्रवेश गर्ने प्रमुख सो नाकाको सडक पानी पर्दा हिलाम्मे र घामलाग्दा अगाडिको गाडी समेत देख्न नसक्ने गरी धुलाम्मे हुने अवस्थामा पुग्दछ।
सो सडकखण्डको अधिकांश खण्ड काठमाडौँ निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्छ। त्यही सडकको दूरवस्था स्थानीय निकायको निर्वाचनमा स्थानीय उम्मेदवारका लागि चुनावी दाउपेच बनेको थियो। अहिले पनि सडकको विषय नै सो क्षेत्रका लागि चुनावी मुद्दा बन्ने भएको छ।
चन्द्रगिरि नगरपालिका–१० का ७४ वर्षीय राजेश नकर्मी धुलो र धुवाँ हटाउने उम्मेदवारलाई आफ्नो मत दिने बताउँछन्। नकर्मी भन्छन्, 'सडक विस्तार र सुधारको विषयमा हिँड्दाहिँड्दै जुत्ता नै फाटिसक्यो, कति नेताका ढोकाढोका चाहारौँ कुरा गरीसाध्ये छैन। १० वर्ष भो खै कहिले बन्ला?'
सडक विस्तारको विषयमा अदालतमा परेका धेरै मुद्दाको छिनोफानो भएको छैन। क्षेत्र नं १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली नगरपालिकासहित र चन्द्रागिरि नगरपालिकाका वडा नं २ देखि ११ वडा पर्दछन्।
दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्यधिक मतले पराजित गरेपछि कांग्रेस नेता राजेन्द्रकुमार (राजन) केसी चर्चाका थिए। निर्वाचन आउन २७ दिन बाँकी रहँदा सो क्षेत्रका ७१ हजार २०१ मतदाता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन्।
नेपाली कांग्रेसले तेस्रोपटक युवा खेलकुदमन्त्री समेत रहेका केसीलाई नै उम्मेदवार बनाएको छ। वाममोर्चाले हितमान शाक्यलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ।
प्रमुख रुपमा ती दुई पार्टीका दुई उम्मेदवारमध्ये एकले नै निर्वाचनलाई बाजी मार्नेछन्। खासगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिका काठ नगरपालिका रुपमा परिचित छन्। नयाँ ती दुई नगरपालिका नाम मात्रका नगरपालिका हुन्। पूर्वाधार सडक, खानेपानी जस्ता विकासका दृष्टिकोणले बत्तीमुनिका अँध्यारोका रुपमा रहेका छन्। उच्च राजनीतिक चेत र परिवर्तनको संवाहकका रुपमा कीर्तिपुरवासीलाई हेरिन्छ।
मन्त्री केसी आफूले जनताको सुखदुःखमा सधैँ साथ र सहयोग दिएकाले निर्वाचनमा जनताले मत दिई आफ्नो विजय हुने दाबी गर्छन्।
वाममोर्चाका उम्मेदवार शाक्य भने काठमाडौँका क्षेत्र १० का जनता परिवर्तनका संवाहक भएकाले परिवर्तनका पक्षमा आफूलाई नै मत दिने विश्वास गर्छन्। उनी भन्छन्, 'माओवादी र एमाले पार्टी मिल्दा लोकतन्त्र खतरामा हुँदैन, झन् बलियो हुन्छ।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।