चितवन- नवलपरासीको जटायु रेस्टुरेन्टको खोरमा राखिएका ६ वटा गिद्धलाई बिहीबार प्रकृतिमा छाडिएको छ।
गत वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट लगेर ती गिद्धहरूलाई जटायु रेष्टुरेन्टको खोरमा राखिएको थियो।
वन मन्त्रालयका सचिव डा.युवकध्वज जिसी, वन विभागका महानिर्देशक मनबहादुर खड्का, उपमहानिर्देशक गोपालप्रकाश भट्टराई, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल लगायत संरक्षण क्षेत्रमा लागेका दातृ निकायका प्रतिनिधि र संरक्षणकर्मीको उपस्थितिमा ती गिद्ध प्रकृतिमा छाडिएको हो।
सो अवसरमा वन मन्त्रालयका सचिव जिसीले विश्वमा नै पहिलो पटक नयाँ प्रयास नेपालमा थालनी भएको बताउँदै संकटापन्न अवस्थामा रहेका गिद्धको संरक्षणमा यस्ता प्रयास फलदायी हुने विश्वास व्यक्त गरे।
वन विभागका महानिर्देशक खड्काले चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्ष हुर्काएर प्रकृतिमा रहेका गिद्धहरूसँग घुलमिल गराई आज छाडिएको उल्लेख गर्दै सबैको साझा प्रयासबाट यस्ता महत्वपूर्ण कामहरू सफल हुने बताए।
प्रकृतिमा भएका र छोड्नु पूर्व खोरमा राखिएका गिद्धहरूलाई सँगै खाना खुवाइदै आएको थियो। जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेष्टुरेन्टमा गरिएको थियो। सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ।
तिनीहरूलाई छाडिएसँगै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा रहेका पाँच वटा गिद्धलाई पुनः सोही खोरमा लगेर राख्ने कार्यक्रम छ। हाल प्रजनन् केन्द्रमा ५७ वटा गिद्ध रहेका छन्।
देशका विभिन्न ठाउँबाट गिद्ध संकलन गरी सन् २००८ बाट कसरामा संरक्षण गरेर हुर्काउन थालिएको हो। सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरि राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो।
विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुबै देशसँगै अन्य मुलुकहरुले पनि गिद्ध संरक्षणमा जोड दिन थालिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।