रसुवा– मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता विपरीत कार्य नगर्न रसुवामा क्रियाशील संघसंस्थालाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा रसुवामा क्रियाशील संघसंस्थाका प्रतिनिधिलाई बोलाई आचारसंहिता विपरित काम नगर्न निर्देशन दिइएको हो।
निर्वाचन आचारसंहित लागू भइसेके पनि संघसस्थाका कर्मचारी तथा प्रतिनिधिले आफुखुसी मतदाता समक्ष सामाजिक काम गर्ने, पार्टीको झन्डा बोकी प्रचारप्रसारमा संलग्न हुने लगायतका काम गरेको भन्दै मौखिक उजुरी आएपछि जिल्ला प्रशासनले आचारसंहिता उल्लंघन नगर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्।
जिल्लामा अति आवश्यक बाहेक मतदातामा प्रलोभन पार्ने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन निर्देशन दिइएको प्रजिअ पौडेलले जानकारी दिइन्।
यस्तै आचारसंहिता उल्लंघन गरेको पाइएमा कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भूकम्पपछि रसुवामा करिब तीन दर्जन संघसस्था क्रियाशील छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।