काठमाडौं- त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरसँगै जोडिएको वर्कसपमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ आयल स्टोरसँगैको आलम मेकानिकल वर्कसपमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए। उनका अनुसार ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन। घटनामा परी घाइते भएका दुई जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगो नियन्त्रण लिएको थियो।
आगलागीको कारणबारे खोजी भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरमा समेत क्षति भएको छ। समयमै आगो नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीले जनायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।