खजुरा, बाँके- बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरु गरिएको छ।
हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालिम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, ५ वटा पंखा लगायतका उपकरण जडान गरेको छ।
अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ। जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इञ्जिनियर रामबाबु यादवका अनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिनेछ।
यसैबीच, मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिने प्रशस्त सम्भावना देखिएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा मध्य र सुदूरका विभिन्न ४ स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ भने अछाम, सुर्खेत र जुम्लामा गरी ३ वटा वायु–सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युतका लागि आयोजना सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।