काठमाडौं- काठमाडौं उपत्यकामा ६ महिनामा क्यान्सरका ७ सय २ जना नयाँ बिरामी फेला परेका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीको पहिलो ६ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो। यो सन् २०१८ जनवरीदेखि जुन महिनासम्मको तथ्याङ्क हो।
परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले ७ सय २ नयाँ बिरामीमध्ये सबैभन्दा बढी ७० देखि ७४ वर्ष उमेरसमूहका रहेको बताए।
सन् २०१८ को जनवरीबाट कुन क्षेत्रमा (जिल्ला) मा बसोबास गरिरहेका जनसंख्यामध्ये कतिमा वर्षेनी नयाँ क्यान्सर रोगी देखा परेका छन्, कुन क्षेत्रमा कति जनाको, कुन अंगको क्यान्सरले मृत्यु भएको छ भन्ने तथ्याङ्क निकाल्न क्यान्सर रजिष्ट्री प्रणाली सुरु गरिएको हाे।
परिषद्ले इन्टरनेसनल एजेन्सी फर रिर्सच अन क्यान्सर (आइएआरसी)सँग समन्वय गरी यो प्रणाली सञ्चालन गरिरहेकाे छ। यसका लागि क्यान्सरका बिरामी तथा मृतकको विवरण संकलनमा हालसम्म नेपाल तथा बाहिरका गरी ४८ किसिमका स्रोत प्रयोग भइरहेको परिषद्को भनाइ छ।
परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले भने, ‘पहिलो ६ महिनाको तथ्याङ्कमा महिलामा बढी मात्रामा क्यान्सर देखिएको छ। जसअनुसार ३ सय ७९ महिला र ३ सय २३ पुरुष छन्।’
उक्त तथ्याङ्कका अनुसार पुरुषमा फोक्सो र दोस्रोमा ओठ तथा मुखको क्यान्सर सबैभन्दा बढी र महिलामा स्तन क्यान्सर पहिलो नम्बरमा र दोस्रोमा फोक्सोको क्यान्सर हुने गरेकाे पाइएकाे उनले जानकारी दिए। त्यसैगरी, पुरुषमा आन्द्रा, तथा गुदद्वारको क्यान्सर र महिलामा पाठेघरको क्यान्सर पनि बढी मात्रामा भएकाे पाइएकाे छ।
डा धिमालले भौगोलिक क्षेत्रअनुसार सबैभन्दा बढी काठमाडौंमा ६३ प्रतिशत, ललितपुरमा २१ र भक्तपुर जिल्लामा १६ प्रतिशत क्यान्सरका रोगी रहेको अनुसन्धानले देखाएको जानकारी दिए। प्रारम्भिक तथ्यांकअनुसार नेवार समुदायमा क्यान्सरको प्रकोप ३९ प्रतिशत, बाह्मण/क्षेत्रीमा ३६ र जनजातिमा १९ प्रतिशतमा देखिएको उनको भनाइ छ। पूर्ण तथ्याङ्क आउन भने अझै केही समय लाग्ने परिषद्ले जनाएकाे छ।
नेपालमा जनसख्ंयामा आधारित क्यान्सरको तथ्याङ्क हालसम्म छैन। तर, सन् २००३ देखि अस्पतालमा आधारित क्यान्सरको रजिष्ट्री भने भइरहेको छ। नेपालमा क्यान्सरका बिरामी बढ्दै गएपछि जनसंख्यामा आधारित तथ्याङ्क संकलनबारे पटक-पटक बहस चलेपनि निकै ढिलो सुरु भएको हो।
हाल फरक-फरक भौगोलिक क्षेत्र समावेश हुनेगरी ९ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पश्चिम र पूर्वी रुकुममा जनसंख्यामा आधारित रजिष्ट्री भइरहेको छ।
ती जिल्लामा बसोबास गने व्यक्तिको क्यान्सर रोगको निदान तथा उपचारबारे जान्न सम्भावित सबै स्वास्थ्य संस्था, अस्पताल, प्याथोलोजी, आयुर्वेद, सामाजिक स्वास्थ्य सुरक्षा शाखालगायतबाट क्यान्सरका नयाँ तथा पुराना क्यान्सर रोगीको तथ्याङ्क संकलन भइरहेको छ।
जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री कसरी गरिन्छ? को-को सहभागी हुन्छन्?
विश्वका अन्य विकसित मुलुकहरुमा जस्तै इन्टरनेशनल फर रिर्सच अन क्यान्सर (आइएआरसी)सँग समन्वय गरी बनाइएको फारमअनुसार क्यान्सर अनुसन्धानकर्तासँगै, अस्पतालका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाले तथ्याङ्क लिने काम गरिरहेका छन्।
जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीबारेमा यसै कार्यक्रमकी फोकलपर्सन अनुसन्धान अधिकृत रन्जिता सुवेदीले क्यान्सर रोग लागेको भनि प्रमाणित भइसकेका बिरामीको तथ्याङ्क तथा क्यान्सर रोगबाट मृत्यु भएका मानिसको विवरण विभिन्न क्यान्सर रोग उपचार गर्ने अस्पताल, स्वास्थ्य तथा विपन्न नागरिक सेवा शाखा, स्थानीय सरकार, राष्ट्रिय पञ्जीरकण विभागबाट तथ्याङ्क संकलन हुने जानकारी दिइन्।
उनले बिरामी तथा क्यान्सर रोगको कारणको मृत्यु भएका व्यक्तिहरुको सम्पूर्ण विवरण क्यान्सर सम्बन्धी छुट्टैछुट्टै सफ्वेयरमा राखि रिर्पोट हुने बताइन्। यसरी तयार गरिएको रिर्पोटमा कुनै पनि व्यक्तिहरुको गोप्यता भङ्ग नहुने गरि छुट्टै कोड प्रयोग गरिने उनको भनाइ छ।
यसका लागि सुवेदीबाहेक परिषद्मा अन्य ३ जना 'असिस्टेन्ट रिर्सचर अफिसर' छन्। त्यसबाहेका अस्पतालमा गई त्यहाँको अवस्था बुझेपछि कसरी सजिलो हुन्छ भन्ने तय गरी एक जना फोकल पर्सन पनि छुट्टाएको छ।
महिला स्वास्थ्य स्वयंसेविकालाई पनि यो काममा सहभागी छन्। उनीहरुलाई कसरी सूची संकलन गर्ने भन्ने तालिम पनि दिइएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो गाउँमा भएका क्यान्सर रोगी जो बाहिर देश उपचारका लागि गएका छन्, कतिको मृत्यु भयो भन्ने समुदायमा गई रेर्कड लिने काम गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।