गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ।
गत कात्तिक १८ गते बेलुकी बालबच्चासहित घरमा रहेकी कुन्साङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। मुख र टाउकोमा चोट लागेकी कुन्साङको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा संलग्न रहेका फरार थिए।
प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएको हो। मुख्य योजनाकार छेताक ग्याल्जिन लामा फरार छन्।
प्रहरी उपरीक्षक प्रकाश अधिकारीका अनुसार हेलिकोप्टरको भाडा सरकारले बेहोर्नेछ भने घटनामा संलग्न रहेका मुख्य योजनाकार लामाको खोजी भइरहेको छ। पक्राउ परेकाविरुद्ध कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनास्थल गोरखा सदरमुकामबाट चार दिन पैदल दुरीमा पर्ने भएकाले हेलिकोप्टरबाट आरोपी ल्याउनुपरेको हो। कुन्साङको शवलाई परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।