काठमाडौं- बाघको मासु र हड्डी भन्दै बेच्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि ब्युरोबाट खटिएको प्रहरी टोलीले बारा मधुवनबाट भरत महतो कुसवाहलाई पक्राउ गरेको हो।
ब्युरोले बाराको कोहल्वी नगरपालिका नयाँबस्तीका ६६ वर्षीय कुसवाहलाई बाघको मासु र हड्डी भनी बिक्री गर्न ल्याएको अवस्थामा पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय बारामा बुझाइएको ब्युरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए।
प्रवक्ता श्रेष्ठका अनुसार, कुसुवाहबाट एक किलो हड्डी र आधा किलो मासु बरामद गरिएको छ। कुसवाहलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसारको कसुरमा सजाय गरिनेछ।
संरक्षित वन्यजन्तु बाघ मार्ने, आखेटोपहार राख्ने, खरिद-बिक्री गर्ने वा ओसारपोसार गर्ने व्यक्तिलाई पाँचदेखि दस लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।