तेह्रथुम- आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्।
मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्तालाई भ्याईनभ्याई छ। उनीहरु प्रचारप्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन्।
जिल्लाका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका छन्। तर गाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरेर फलाएको धान बाली भित्र्याउने चटारो छ।
यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको आठराई गाउँपालिका–४, इवाका किसान डिल्लीराम विकले बताए।
'चुनाव आयो रे, नेताहरु गाउँघरमा डुल्न थालिसके,' उनी भन्छन्, 'हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, उनीहरुलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो।'
मतदान गर्ने दिन आउन अब ३० दिन मात्रै बाँकी छ। तर गाउँका किसानलाई चुनावले छोएको छैन। कतिपय किसान खेती सम्हाल्नमै व्यस्त रहे पनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन्।
यो याममा जिल्लाका किसान ‘खोल्सीको कालो सुन’ नामले परिचित अलैँची बाली थन्काउन, धान बाली भित्र्याउन र जौ, गहुँ छर्ने, आलु लगाउने, विभिन्न तरकारी लगाउने काममा व्यस्त छन्।
गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए। तर अहिले भने किसानले कम चासो लिएका छन्।
'पार्टीका पछि लागे पेट केले भर्ने?' फेदाप गाउँपालिका–२ की मालती जोगी भन्छिन्, 'मानो रोपेर मुरी भित्र्याउने यो बेला हामीलाई चुनावभन्दा खेतीपाती नै प्यारो छ।'
किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने यो बेला अहिले मुख्य समय हो। धेरै मतदाता धान खेतमै व्यस्त छन्। पार्टीहरूले कृषिप्रधान देशको नामअनुसार किसानका हितमा काम नगरेको उनीहरूको गुनासो छ।
त्यसो त दलहरुले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीबारे प्रचारप्रसार गर्दै मत माग्न थालिसकेका छन्। कतिपय कृषकलाई चुनावबारे जानकारी छैन। गाउँगाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि कृषक रनभुल्ल परेका हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।