जलविरे, सिन्धुपाल्चोक- बतासे–२ की ७८ वर्षीया मनकुमारी विकलाई परिवारको साथ त थिएन नै प्रकृतिले पनि ठग्यो।
२०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदिएपछि उनी सहाराविहीन छिन्। तर पनि उनमा घर ठडिने विश्वास छ। त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारलाई मात्र मत दिने बताउँछिन् उनी।
'घर बनाइदिए हुने थियो, बरु खाना मागेर पनि खाने थिएँ,' उनले दुखेसो पोखिन्, 'चार पैसा छैन, भएको खेतीबाट जेनतेन ६ महिना खान पुग्छ। बाँकी गाउँमै सामान्य काम गरेर खान्छु।'
भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई विकासभन्दा पनि पहिला भत्केका घर बनाइदिने उम्मेदवारलाई जिताउने मनसाय छ।
नौबिसे–२ का ८१ वर्षीय भरतराज भण्डारी गाउँमा राम्रो विकास गर्नेलाई मतदान दिने बताउँछन्। कांग्रेसका पुराना मतदाता रहेका भण्डारी यसपटक मत कसलाई दिने भन्ने अन्योलमा छन्। 'जित्ने उम्मेदवारबाट ज्येष्ठ नागरिकलाई भत्ता बढाइदिने र रोगव्याधीको औषधि उपचार गर्नेलाई मत दिन्छु,' उनी भन्छन्।
जलवीरे–२ का बाबुराम सापकोटाको भने अरुको भन्दा फरक मत छ। हिन्दु धर्मको संरक्षण गर्ने दलले जिते हुने थियो भन्ने चाहना छ उनलाई।
नेपाली कांग्रेसका स्थानीय नेता रेशम गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माङ्माया स्याङ्बोले जसले जिते पनि पहिला भूकम्पबाट भत्किएका घर निर्माण तथा जिल्लाको सडक, खानेपानी र जडीबुटीको व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताउँछन्।
दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा उम्मेदवार बनेका छन्।
प्रदेशसभा अन्तर्गत क्षेत्र नं १ को (क) मा विष्णु खत्री र (ख) मा राजेन्द्र श्रेष्ठ तथा क्षेत्र नं २ को (क) मा विकास लामा र (ख) निमा लामा उम्मेदवार छन्।
त्यस्तै, वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा क्षेत्र नं १ बाट पूर्व सञ्चारमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा नेकपा (एमाले) का नेता शेरबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा एमालेको तर्फबाट अरुण नेपाल र (ख) मा सरेश नेपाल उम्मेदवार बनेका छन्।
त्यसैगरी, क्षेत्र नं २ (क) मा माओवादी केन्द्रको तर्फबाट युवराज दुलाल र (ख) मा पूर्व सांसद दावा तामाङको उम्मेदवारी परेको छ।
सिन्धुपाल्चोकमा करिब सवा दुईलाख मतदाता रहेका छन्। यसपटक क्षेत्र नं १ मा हालका सञ्चारमन्त्री र पूर्व सञ्चारमन्त्रीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।