काठमाडौँ- तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न? चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर्नुहोला।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही थालेको छ। राति ८ देखि ११ बजेसम्म मापसे गर्नेमाथि कारबाही गर्दै आएको ट्राफिक प्रहरीले केही दिनयता दिउँसोसमेत जाँच गर्न सुरु गरेको हो।
ट्राफिक प्रहरीले राति एकै समय मापसे जाँच गर्दा चालकले छल्नका लागि दिउँसै मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउन थालेपछि दिउँसै जाँच गर्न सुरु गरिएको महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बताए। 'सडकमा गुडिरहेका सवारीसाधनलाई बाधा नपर्ने गरी क्रमशः दुई-चार वटा सवारीसाधनलाई सडकको किनारामा ल्याएर जाँच गर्न थालेका छौँ,' उनले भने। दिउँसो कार्यालय छाडेर घर जाने समयमा मापसे गरेर सवारी चलाएको पाइएको उनले बताए।
महाशाखाले २०६८ मंसिर १७ देखि मापसे गरी सवारी चलाउने चालकमाथि जाँच गर्दै आएको हो। प्रवक्ता रञ्जितकारले पछिल्लो समय मापसे गरी सवारी चलाउने र दुर्घटना हुने सङ्ख्यामा कमी आएको बताए। ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने सवारीसाधनलाई सवारी चालक अनुमतिपत्र भए रु एक हजार र नभए रु दुई हजार जरिवाना लिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।