काठमाडौं– घुस लिएको आरोपमा प्रहरीले निलम्बित डिएसपीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। डिएसपी नवीनकृण भण्डारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
डिएसपी भण्डारी महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत रहँदा एक व्यक्तिलाई थुनामा राखेर पैसा असुलेका थिए। डिएसपी भण्डारीसहित प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट, इलाका प्रहरी कार्यालय, फर्पिङमा कार्यरत प्रहरी हवल्दार मनोजकुमार यादव, महानगरीय प्रहरी प्रभाग, बालसुधार गृह, ठिमी, भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी कर्मचारी भएको बताउने विन्दावासिनी बालुवा डिपो संचालक विनोद थापा बगाले विरुद्ध मुद्दा दायर भएको हो।
भारतीय सेनामा भर्ती गराउन भनी फारम संकलन र रकम असुल गरेको भन्ने आरोप लगाई उनीहरुले गंगा यादवलाई पक्राउ गरी ५ लाख घुस लिएका थिए। अख्तियारले गत असोज १० मा उनीहरुलाई घुससहित पक्राउ गरेको थियो। अनुसन्धान पूरा गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। चारैजना अख्तियारको हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।