समाज जति आधुनिक हुँदैछ, उति नै व्यक्तिवादी। हरेक चिजमा ऊ पहिलो हुन खोज्छ। हरेक ठाउँ अग्रपंक्तिमा हुने होडमा छ मान्छे।
नाटक 'लाइन’ले यिनै मानवीय प्रवृत्तिमाथि कटाक्ष गरेको छ। आकांक्षा कार्की निर्देशित 'लाइन’ अमेरिकी नाटककार, कलाकार, निर्देशक इजरेल होरोभिट्सले लेखेका हुन्। विश्वका ३५ भाषामा अनूदित यो नाटकले न्युयोर्कमा ४० वर्ष निरन्तर मञ्चित भएर लामो समय चलेको नाटकको रूपमा कीर्तिमान कायम गरिसकेको छ।
नाटकले लाइनमा उभिएका पाँच जनाका माध्यमबाट मानिसको व्यक्तिवादी मनोवृति उठाउन खोजेको छ। उनीहरू केका लागि लाइनमा उभिएका छन्? सुरुमा खुल्दैन। यसबाट मानिसहरू कसरी बेअर्थ र निरुद्देश्य रूपमा होडमा लाग्छन् भन्ने कुरालाई व्यंग्य गरिएको छ। पाँच व्यक्तिको मनोविज्ञान र व्यक्तित्व फरक छ, उनीहरू आफूलाई आदर्शवादी ठान्छन् तर उनीहरूमा निहित विसंगति कति चर्को छ, नाटकको कथा बढेसँगै खुल्दै जान्छ।
नाटकले हामी बाँचिरहेको परिवेशमा धुमिलिँदै गइरहेको आदर्शलाई मानिसहरूले आफ्नो स्वार्थका कसरी प्रयोग गर्छन् र आफै स्थापित आदर्शबाट व्यक्तिगत स्वार्थ र फाइदाका लागि तल झर्छन् भन्ने कुरालाई पेश गर्छ।
नाटक मानवीय जीवनको शून्यतामाथिको उपहासका रूपमा मञ्चमा व्यक्त भएको छ। मानिस कसरी आफ्नो भ्रमपूर्ण शैली व्यक्तिगत खुसीमा रमाउँछ र सामाजिक प्राणी भईकन पनि आफ्नै लागि सारा चिज प्रप्त गर्न सक्छ भन्ने कुरालाई नाटकले उठाएको छ।
धेरै वर्ष लेखिएको भए पनि नाटक नेपाली वर्तमान समयमा सान्दर्भिक छ। करिब डेढ घन्टा लामो नाटछकले दर्शकलाई हँसाउँदै मानिसका प्रवृति र सोचमाथि प्रहार गरिरहन्छ। पाँच कलाकारको अभिनयले दर्शकलाई मञ्चमै तानिरहन नाटक सफल छ। बीचबीचमा हँसाउँदै आखिर यो होडबाजी केका लागि भन्ने प्रश्न उठाउँदै नाटकको समापन हुन्छ।
सामान्य स्टेज सज्जाको नाटकमा राजकुमार पुडासैनी, सुदाम सिके, लुनिभा तुलाधर, सरोज अर्याल तथा सन्देश शाक्यको अभिनय छ। पाँच फरक पात्रमा पाँच कलाकारहरूले आआफ्नो सिग्नेचर छोडेका छन्। यद्यपि प्रिनालको भूमिकामा अभिनय गरेका सरोज अर्यालले नाटक हेरिरहँदा दर्शकले सर्वाधिक हाँसो छुटाउँछन्। सो पात्रमा उनी प्राकृतिक देखिएका छन्। त्यस्तै रविनाको भूमिकामा लुनिभाले आफ्नो छाप छोड्छिन् भने सुदाम सिके, सन्देश शाक्य तथा राज कुमारले आफ्नो पात्रलाई न्याय गरेका छन्।
प्रकाशको प्रयोग नाटकमा सरल तरिकाले गरिएको छ। नेपाली र भारतीय क्लासिकल गीतसंगीतले नाटकमा थप रोचकता थपेको छ। यसका लागि विश्व काफ्ले र सुशान्त चालिसेको सांगीतिक जुगलबन्दी तारिफयोग्य छ। नेहा क्रिस्टोफरको कोरियोग्राफीले नाटकको लयलाई साथ दिएको छ।
यस्तै आकांक्षा कार्कीको निर्देशन प्रशंसनीय छ। कलाकारलाई फरक व्यक्तित्वमा प्रस्तुत गर्न उनी सफल छिन्।
विदेशी कथालाई नेपाली मञ्चका लागि छनोट गर्नु नै उत्कृष्ट छनोट हो। नाटकलाई बोझिल नबनाईकन पात्रहरूलाई नेपाली समाजअनुकूल अभिनय गराउन उनी सफल छिन्।
अनूदित नाटकको रचनागर्भ नगुमाउन केही भद्दा शब्दलाई नाटकमा प्रयोग गरिएको छ। ती शब्द प्रयोग नगरिएको भए नाटक सबै उमेर समूहका लागि दर्शनीय हुन्थ्यो। ती शब्दाबिना पनि नाटकले आफ्नो अन्तर्य गुमाउँदैनथ्यो।
शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको नाटक मंगलबारबाहेक हरेक दिन ५:३० बजे मंसिर ३ गतेसम्म मञ्चित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।