चितवन- गत बैसाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासीको जटायु रेस्टुराँमा लगेर प्रकृतिमा छोड्नका लागि खोरमा राखिएका ६ वटा गिद्धलाई कात्तिक २३ गते प्रकृतिमा छाडिने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, वन विभागका सचिव डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का लगायतको उपस्थितिमा गिद्ध छाडिनेछ। छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यको बारेमा अनुसन्धानका लागि नेपाल पक्षी संरक्षण संघ र निकुञ्ज विभागका प्राविधिकले गत एक सातादेखि काम गरिरहेका छन्।
नेपाल पंक्षी संरक्षण संघ गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुसालका अनुसार खोरमा राखिएका सबै गिद्धको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ। सबैको स्वास्थ्य राम्रो रहेको र लगाइएका ‘सेटलाइट ट्याग’ ठिक अवस्थामा रहेको उनले बताए।
जटायु रेस्टुराँ प्रकृतिमा रहेका ६ वटा गिद्धलाई समाएर स्याटेलाइट ट्याग लगाएर छाडिएका थिए। तिनको आनीबानी नियमित रुपमा अनुगमन भइरहेको छ। भुसालका अनुसार ती गिद्ध पश्चिम नेपालको बाँके क्षेत्रसम्म पुगेको देखिएको छ। नवलपरासीको जटायु रेस्टुराँबाट दुई सय किलोमिटर पश्चिमसम्म पुगेका गिद्ध पुनः फर्किएर रेस्टुराँमै आएको उनले बताए।


प्रकृतिमा छाडिएका र छोड्नुपूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आएको छ। जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुराँमा गरिएको छ।
उनीहरुले सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ। तिनीहरुलाई छाडिएसँगै चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा रहेका ५ वटा गिद्धलाई पुनः सोही खोरमा लगेर राख्ने कार्यक्रम रहेको छ। हाल खोरमा ५७ वटा गिद्ध रहेका छन्।
अति संकटापन्न अवस्थामा रहेको डंङ्गुर जातको गिद्धको संख्या बढाउनका लागि दाताको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ। सन् २००८ बाट कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो। सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो।
सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत बैसाखमा जटायु रेस्टुराँमा छाड्नका लागि खोरमा लगेर राखिएको थियो।
सन् २०१७ मा ५ वटा, सन् २०१८ र २०१९ मा ४/४ वटा गरी १९ वटा गिद्ध छाड्न लागिएको हो। विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुईसँगै अन्य देशले पनि संरक्षण थालिएको हो।
मुख्य रुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मर्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।
सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो।
त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको उनले बताए। त्यसपछि डाइक्लोफिनाक औषधि नेपाल सरकारले २००७ मा नै प्रतिबन्ध लगाएको छ। नवलपरासीको पिठौलीमा सन् २००६ मा पहिलोपटक जटायु रेस्टुराँ सञ्चालनमा ल्याइएको हो।
हाल देशभरमा ७ ठाउँमा यस्ता रेस्टुराँ सुरु गरिएको छ। जटायु रेस्टुरा गिद्ध संरक्षण केन्द्र हो। जसले बूढाखाडा र उत्पादन दिन छाडेका पशु चौपाय किनेर राख्ने गर्दछ। जटायु रेस्टुराँ व्यवस्थापन समितिका संयोजक डिबी चौधरीका अनुसार उत्पादन दिन छोडेर बूढो भएका एउटा पशुको रु २५० मा रेस्टुराँले किन्ने गर्दछ। ती पशु मरेपछि गिद्धलाई खुवाइने गरिन्छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।